अब मेलम्ची आयोजनामा प्रचण्डले हस्तक्षेप गर्ने - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

अब मेलम्ची आयोजनामा प्रचण्डले हस्तक्षेप गर्ने



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी काठमाण्डु ल्याउने बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा शुक्रबार प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउने बताएका हुन् ।

मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरु नै लागेका भन्दै उनले अब कडा कदम चालेर भए पनि मेलम्ची ल्याउने बताएका हुन् । ‘म आफै पनि र प्रधानमन्त्री पनि नेतृत्वले हस्तक्षेप गरेर पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा दृढ छौं,’ उनले भने ।

आफू प्रधानमन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनका जाँदा केही मानिसहरुले मेलम्ची आउन अझै एक दुई वर्ष लाग्छ भनेको स्मरण गर्दै उनले विभिन्न गतिविधि गर्ने मानिसहरुको समूहले अझै आउन दिन्नौं भनेको सुनेको बताए ।

‘विभिन्न गतिविधि गर्ने केही मानिसको समूहले, अझै आउन दिन्नौं भनेका छन्,’ प्रचण्डले भने , ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, सरकारले स्ट्रोङ कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।’

प्रचण्डले मेलम्ची आउन नदिने खेलमा नेपालीहरु नै रहेको आरोप लगाए । ‘मलाई थाहा छैन, कसले रोक्छ मेलम्चीको पानी, सुरुङ खन्ने काम पनि मोर अर लेस सकिएको छ । सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा छ’ उनले भने ‘तर अझै एक दुई वर्ष लाग्छ किन भन्छन्, मेलम्ची हाम्रै मान्छेहरुले (नेपालीहरुले) रोकेका हुन् ।’

प्रचण्डले मेलम्चीलाई लामो समयदेखि लागेको रोग भनी ब्याख्या गरे । ‘यो छिटै सन्चो नहुने खालको रोग हो । उपचार चाहिँ छ, तर अलि लामो समय लाग्ने खालको रोग छ’ प्रचण्डले भने ‘जरुरी पर्‍यो भने अपरेसन गर्न पनि ढिला नगर्ने तर मेलम्ची ल्याउनुपर्छ ।’