अपहरणमा परेका बृद्धको २ घण्टामै उद्दार : अपहरणकारी युवती पक्राउ - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

अपहरणमा परेका बृद्धको २ घण्टामै उद्दार : अपहरणकारी युवती पक्राउ



काठमाडौं – ललितपुरको इमाडोल बस्ने ५९ वर्षीय कृष्ण चौडेललाई अपहरणमा परेको २ घन्टामै अद्दार गरिएको छ ।

चौडेललाई अपहरण गर्ने अनिमा भुजेललाई समेतलाई महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको छ । उनि ढोलाहिटी बस्दै आएको बताइएको छ ।

परिसरका प्रमुख (एसएसपी रवीन्द्र धानुकका अनुसार अपहरण भएको सूचना पाएलगत्तै प्रहरीले चौडेलको उद्दार गरी अनिमालाई ढोलाहिटीबाट पक्राउ गरेको हो । अपहरणमा परेको खबर थाहा पाएलगत्तै साढे २ घण्टामै प्रहरीले कृष्णलाई सकुशल उद्दार गर्न सफल भएको एसएसपी धानुकले बताए ।

सिन्धुली घर भई ढोलाहिटीमा फ्ल्याट लिएर बस्दै आएकी अनिमाले कृष्ण चौडेललाई इमाडोलबाट अपहरण गरेकी थिइन् । चौडेललाई अपहरण गर्नेमा अनिमासँगै थप २ जना पनि रहेको एसएसपी धानुकले बताए ।

यसरी घट्यो घटना
प्रहरीका अनुसार बिहान ६ बजेतिर कृष्ण चौडेल अपहरणमा परेका हुन् । चौडेल र भुजेल चिरपरिचत व्यक्ति हुन् । उनीहरुबीच पहिलैदेखि पैसाको कारोबार पनि हुने गरेको पाइएको छ ।

प्रहरीका अनुसार आज बिहान पनि इमाडोल नजिकै अनिमाले चौडेललाई बोलाएर अपहरण गरेको हुनसक्ने बताइएको छ । इमाडोलबाट अपहरण गरेर चौडेललाई सिधै ढोलाहिटी पुर्याएको थियो ।

चौडेललाई ढोलाहिटी पुर्याएपछि अनिमाले २ लाख फिरौती मागिन् । यदि नदिए मार्ने धम्की समेत दिएको चौडेलले प्रहरी समक्ष बयान दिएको एसएसपी धानुकले जानकारी दिए ।

कृष्णलाई अपहरण गरेपछि अनिमाले छोरी चरु चौडेललाई फोन गरी २ लाख फिरौती मागेकी थिइन् । अनिमाले फोन गरेलगत्तै चरुले एक प्रतिष्ठित मिडिया र ललितपुर प्रहरीलाई खबर गरेकी थिइन् । चरलाई अनिमाले अरु कसैलाई भने कृष्णलाई मारिदिने धम्की दिएकी थिइन् ।

प्रहरीलाई सूचना प्राप्त भएलगत्तै डीएसपी कपिल बोहोराको टोली अपहरणमा परेका कृष्णको खोजीमा तत्काल परिचालन भएको एसएसपी धानुकले बताए । उनले भने, ‘परिसर र महाशाखाको संयुक्त टोली सादा पोसाकमा समेत खटिएको थियो ।’

भुजेलले फिरौती मागेको रकम दिन प्रहरी परिचालन भएको केही समयमा डीएसपी बोहोराको टोली र चरु पौडेल ढोलाहिटी पुगे । ढोलाहिटी पुगेर भजेललाई सम्पर्क गरेर फिरौती रकम दिने भन्दै उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी भुजेलमाथि प्रहरीले अनुसन्धान थालेपछि अपहरण संलग्नमा अरु पनि रहेको खुल्न आएको छ । प्रहरीका अनुसार थप एक महिला र एक पुरुषको संलग्नता रहेको पाइएको छ ।

पक्राउ परेकी अनिमामाथि थप अनुसन्धान भइरहेको र अपहरण कार्यमा थप संलग्न रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।