सत्तामा पुगेर लुट मच्चाउने पात्र फेरिए पनि लुटतन्त्र अन्त्य भएको छैन - चित्रबहादुर केसी - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

सत्तामा पुगेर लुट मच्चाउने पात्र फेरिए पनि लुटतन्त्र अन्त्य भएको छैन – चित्रबहादुर केसी



राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा बस्नेहरूले विचारका आधारमा फरक मत राख्‍नेहरूप्रति पूर्वाग्रह राखेको आरोप लगाएका छन्। कुनै बेला साङ्केतिक रूपमा राजतन्त्रको विरोध गर्दा आफूमाथि राजकाजविरुद्धको मुद्दा लगाइएको स्मरण गर्दै केसीले सत्तामा पुगेर लुट मच्चाउने पात्र फेरिए पनि लुटतन्त्र अन्त्य नभएको विचार व्यक्त गरे।

क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। नेता केसीले अहिले संसदमा सरकार र प्रतिपक्षबीच चलिरहेको जुहारी कहिले सासूको त कहिले बुहारीको पालो भने जस्तो भएको भन्दै व्यङ्ग्य समेत गरे।

कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले स्वतन्त्र, सक्षम र निर्भीक न्यायालयको अभावमा नेपालमा जनाधिकारको संरक्षण हुन नसकेको बताए।

अदालतको घाँटीमा ‘महाअभियोगको तरबार’ झुण्ड्याएर सरकारले न्यायालयबाट आफू अनुकूल निर्णय गराउने प्रयास गरेको बताउँदै पौडेलले न्यायाधीश नियुक्तिको वर्तमान प्रक्रिया नै त्रुटिपूर्ण रहेको औँल्याए।

जनाधिकार अभियान, नेपालका अध्यक्ष एकराज भण्डारीले संसदीय प्रणाली ‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने पसल’ हो भन्ने कुरा पुर्णरूपमा पुष्टि भएको धारणा राखे। संविधान, कानुन, विधिको शासन, नागरिक अधिकारजस्ता विषयहरू सत्ताधारीहरूले केवल भाषणवाजी, अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित पार्ने औजारका रूपमा प्रयोग गरिरहेको उनको आरोप छ।

आफैले बनाएको संविधानको मर्मविपरीत विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको उनको भनाई छ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपालको कम्युनिस्ट आन्दोलनको मूलधारमा देखापर्ने प्रवृत्ति र नेतृत्व बस्तुतः कम्युनिष्ट नै नभएको ठोकुवा गरे।

हजारौँको बलिदानीबाट आएको गणतान्त्रिक युगमा पनि सोचेर, डराएर बोल्नुपर्ने स्थिति हुनु बिडम्बनापूर्ण भएको धारणा राख्दै उनले भने– “विप्लव नेकपामाथिको प्रतिबन्ध गलत छ भन्ने कुरा एउटा सामान्य नागरिकले पनि बुझेको छ तर यही कुरा बोल्दाबोल्दै म गिरफ्तारीमा पर्न सक्ने खतरा छ। हामीले कस्तो लोकतन्त्र ल्याएछौँ ?”

जनयुद्धकालिन माओवादी आन्दोलनको निरन्तरताका रूपमा आजको विप्लव नेकपा रहेको केसीको बुझाई छ।

नेपाल पत्रकार महासङ्‌घका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताको सीमा तोक्ने अधिकार कसैसँग नभएको धारणा राखे।

पछिल्लो समय विभिन्न बहानामा प्रेस तथा प्रेससँग सम्बन्धित व्यक्तिहरूमाथि भइरहेको धरपकडको विरोध गर्दै उनले प्रेस तथा अभिव्यक्ति, राजनीतिक स्वतन्त्रता र जनाधिकार एकआपसमा सम्बन्धित भएको बताए।

क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालका अध्यक्ष डिल्लीराज रावतले आजको नेपालमा नागरिकको स्वतन्त्रता र अधिकारको विषय गम्भीर भएको भन्दै जनअधिकारको प्राप्ति र संरक्षणका लागि आफूहरू विगत देखि नै निरन्तर सङ्घर्षमा रहेको स्मरण गराए।

सो सङ्गठनका उपाध्यक्ष जन्मदेव जैसीले जनताले पूर्णरूपमा मुक्ति नपाएसम्म कुनै न कुनै रूपमा शाषकहरूबाट अधिकार कटौती भैरहने धारणा राखे। कार्यक्रमको सञ्चालन सङ्गठनका महासचिव बाबुराम भुसालले गरेका थिए।