प्रधानमन्त्री प्रस्थान गर्दा विमानस्थलमा उडान-अवतरण बन्द हुने - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रधानमन्त्री प्रस्थान गर्दा विमानस्थलमा उडान-अवतरण बन्द हुने



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्ष्यित गर्दै आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा बन्द हुने भएको छ।

प्रधानमन्त्रीको उडानको समयमा बिहान ११ बजेदेखि ११:३० विमानस्थलका आन्तरिक तथा बाह्य दुवै उडान तथा अवतरण सेवा ठप्प हुने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए। भिभिआइपी सवारीलाई लक्ष्यित गर्दै विमानस्थल उडान बन्द गराउन लागिएको प्रमुख क्षेत्रीले बताए।

यसअघि भिभिआइपी सवारीका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदै आएकोमा यात्रुहरूलाई थप सास्ती नहोस् भन्दै ३० मिनेट मात्रै बन्द गर्न लागिएको पनि उनले जानकारी दिए। यसअघि अघिल्लो सातामात्रै राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा जाँदा तोकिएको समयभन्दा लामो समय विमानस्थल बन्द हुँदा आन्तरिक र बाह्य गरी १ सय ३० भन्दा बढी उडान प्रभावित भएका थिए।

नेपाल वायुसेवा निगमको ‘एयरबस ए-३२०’ विमान चार्टर गरी प्रधानमन्त्री ओली  बिहान ११:२५ मा ५ दिने विदेश भ्रमणका लागि निस्कनेछन्। सो क्रममा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट हुने सबै उडान तथा अवतरण सेवा बन्द हुने भएको हो।