पतिकै अगाडि ‘ग्याङ रेप’ गरेको भिडियो भाइरल
राजस्थानको अलवर जिल्लामा एक दलित दम्पतिलाई बाटो छेकेर सुनसान ठाउँमा लगियो । र, श्रीमान्कै अगाडि सामूहिक बलात्कार गरियो ।
घटनाको भिडियो भाइरल भएको छ । यसलाई लिएर दलित सङ्गठनहरूले अलवरको थाना गाजीमा प्रदर्शन गरेका छन् ।
घटनामा यस प्रहरीले एक व्यक्तिलाई गिरफ्तार गरेको छ । अन्य चार जनाको खोजी भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । लापरवाहीको आरोपमा प्रहरीको स्टेसन हाउस अफिसर (एसएचओ) सरदार सिंहलाई पनि निलम्बित गरिएको छ ।
लोकसभा चुनावका कारण प्रहरीले यो घटनालाई कैयौँ दिनसम्म दबाएर राखेको दलित सङ्गठनहरूले दाबी गरेका छन् । घटना २६ अप्रिलमा भएको बताइएको छ ।
पीडकले सामूहिक बलात्कारको भिडियो भाइरल बनाइदिने धम्की दिएपछि पीडित दम्पतिले यसअघि बोल्ने आँट नगरेको दलित सङ्गठनहरूको भनाइ छ ।
पछि भने पैसाको माग गरियो र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरियो ।
घटनाबाट आक्रोशित प्रदर्शनकारीले थाना गाजी कस्बेमा मङ्गलबार प्रदर्शन गरेका छन् । उनीहरूले राष्ट्रिय राजमार्ग नै रोकेर प्रदर्शन गरेका हुन् । यसपछि प्रहरीले दबाबमा आयो र एक जना अभियुक्तलाई गिरफ्तार गरेको छ ।
राज्यका प्रहरी महानिर्देशक कपिल गर्गले पत्रकार सम्मेलनमा ‘घटनामा पाँच व्यक्तिको संलग्नता रहेको देखिएको र अभियुक्तहरूको खोजीका लागि १४ समूह गठन गरिएको’ भनेका छन् ।

