३८ क्वीन्टल सुन खै रे ? त्यो त पहिलेका सरकारलाई थाहा होला : प्रम ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले सुन तस्करी बन्द गरेको दाबी दोहोर्याएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जबाफ दिने क्रममा सोमबार उनले तस्करीका सबै प्वाल बन्द गरिएको दाबी गरे ।
अघिल्ला सरकारका पालामा तस्करी भएको बताउँदै उनले वर्तमान सरकारले त्यसलाई रोकेको बताए । उनले तस्करीमा संलग्नहरूलाई कानुनी कारबाही भइरहेको उल्लेख गरे ।
‘अहिलेको सरकारको पालामा भएको हो र तस्करी ?’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले त बन्द गरेको हो । ३८ क्वीन्टल सुन खै रे, त्यो त पहिलेका सरकारलाई थाहा होला ।’
यस्तै, उनले बालुवाटारको सरकारी जग्गा अतिक्रमणको काम अहिलेको सरकारले रोकेको र अघिल्ला सरकारका पालामा व्यक्तिका नाममा गएको जग्गा फिर्ता ल्याउने काम गरेको दाबी गरे ।
साथै, खुलामञ्च, बसपार्क लगायत देशका विभिन्न ठाउँमा अतिक्रमण गरिएका सार्वजनिक जग्गा तत्काल रोक्ने र सरकारको नाममा ल्याउने काम थालेको प्रधानमन्त्री ओलीले बताए ।

