१९ जना बालबालिका उद्धार

काठमाडौँ – बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारबाट अलपत्र अवस्थामा रहेका १९ जना बालबालिकालाई प्रहरीले उद्धार गरेको छ ।
कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक/डेढ लाखको दरले रकम उठाई सोही ठाउँस्थित घर भाडामा लिई बालबालिकाहरूलाई अलपत्र अवस्थामा छाडेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले १५ बालक र ४ बालिका समेत गरी १९ जनालाई उद्धार गरेको हो ।
सोमबार दिउँसो उद्धार गरिएका बालबालिकाहरुमध्ये ९ जना हिमाली नविन समाज महाराजगन्ज र १० जना साझा मञ्च बालुवाटारको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।
जय बहादुर हाल फरार रहेकाले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

