पत्नी हत्या गर्ने व्यक्ति बागबजारबाट पक्राउ

काठमाडौँ – महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले पत्नी हत्या गर्ने एक व्यक्तिलाई बागबजारबाट पक्राउ गरेको छ ।
काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती स्थायी घर भई हाल काठमाडौँ बागबजारमा पत्नी निर्मला नेपालसँग डेरा गरी बस्ने पुष्कर भन्ने राजकुमार पहरीलाई प्रहरीले पक्राउ गरेको हो ।
२७ वर्षीय पहरी २३ वर्षीया पत्नी नेपालसँग बागबजारमा डेरा बस्दै आएका थिए । पत्नीसँग विवाद हुँदा पहरीले वैशाख २१ करिब साढे पाँच बजे पलङ्गमा ठोकेर पत्नी निर्मला नेपालको हत्या गरेको महानगरीय प्रहरी महाशाखा काठमाडौँका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए । निर्मलाको माइती भोजपुर जिल्लाको याङपाङ हो ।
पत्नीको हत्या गरी पहरीले घटना लुकाएर राखेका थिए । पत्नीको मृत्यु भएको खबर उनले आफन्तलाई गराएका थिए । सूचना पाएपछि हत्या भएको स्थानमा पुगेको प्रहरीले पहरीसँग सोधपुछ गरेको थियो ।
पहरी आफूले पत्नीको हत्या गरेको स्वीकार गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको एसएसपी सिंहले बताए ।

