'मेरो सरकार'प्रति प्रचण्डको गम्भीर आपत्ति - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

‘मेरो सरकार’प्रति प्रचण्डको गम्भीर आपत्ति



काठमाडौँ – सत्तारुढ दलकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्‌घीय संसदमा प्रयोग गरेको ‘मेरो सरकार’ वाक्यांशप्रति  आपत्ति जनाएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीको बचाउ गरिरहेका बेला अध्यक्ष प्रचण्डले भने ‘मरो सरकार’प्रति असन्तुष्टि जनाएका हुन् ।

सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा आज भाग लिँदै अध्यक्ष प्रचण्डले दोस्रो जनआन्दोलनपछिको ऐतिहासिक परिवर्तनको सार तत्त्वलाई ध्यान दिन आवश्यक रहेकोमा जोड दिए । “२०६२–०६३ पछिको परिवर्तनले हजारौँ वर्षदेखिको राजनीतिक प्रणालीलाई परिवर्तन गरेको छ । एकात्मकबाट सङ्‌घात्मक, राजतन्त्रात्मकलाई गणतन्त्रतात्मक र समाानुपातिक समावेशी प्रणाली नै भनौँ । अब बहसहरू अगाडि बढाउँदै लैजाँदा सत्तापक्ष र प्रतिपक्षले यो ऐतिहासिक परिवर्तनको सार तत्त्वलाई गहिरो गरी ध्यान दिन जरुरी छ,’’ उनले भने ।

उनले दोस्रो जनआन्दोलनपछिको परिवर्तनलाई गुणात्मक परिवर्तनको संज्ञा दिँदै कुनै पनि बहसलाई अगाडि बढाउँदा परिवर्तनको उचाइलाई सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

“यो गुणात्मक परिवर्तन छ र यसले हामी जनप्रतिनिधि राजनीतिक दलका नेताहरूलाई पनि परिवर्तनको स्तर गहिराइ उचाइलाई नै ध्यान दिएर नै बहसमा प्रस्तुत हुनुपर्दछ,’’ प्रचण्डले भने, “हिजो राजसंस्था वा राजतन्त्र अन्तर्गतको हाम्रो बहुदलीय प्रणाली अन्तर्गतको जस्तो मात्रै यो छैन । यसमा एउटा गुणात्मकता छ र यसले हामी सबैबाट पनि गुणात्मक ढङ्गले बसहलाई माथि उठाउन र हाम्रा सबै सोच र शैलीलाई त्यसको अनुकूल बनाउने मनसायको साथ हामी जानु पर्दछ ।’’

सत्ता पक्षले राम्रै नीति ल्याए पनि प्रतिपक्षले विरोध गर्नेैपर्ने बाध्यता र प्रतिपक्षले राम्रै सुझाव दिए पनि सत्ता पक्षले त्यसलाई अस्वीकार गर्नैपर्ने बाध्यताले समाजमा नकारात्मक दृष्टिकोणले प्रश्रय पाइरहेको त छैन भन्ने सवाल उत्पन्न भएको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले गत वर्षको तुलनामा सरकारले राम्रो नीति तथा कार्यक्रम ल्याएको दाबी गर्दै प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले पनि राम्रो तयारी गरेर धारणा राखेको बताए ।