राष्ट्रपतिले चीनमा गरेको सम्झौता गैरकानुनी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

राष्ट्रपतिले चीनमा गरेको सम्झौता गैरकानुनी



काठमाडौँ – नेपाली काङ्ग्रेसका सांसद अमरेशकुमार सिंहले राष्ट्रपति विद्यादेवि भण्डारीले हालसालै चीन भ्रमणका क्रममा गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ सम्झौता संविधानविपरीत भएको दाबी गरेका छन् ।

सोमबार सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै संसदमा सिंहले संविधानले राष्ट्रपतिलाई कार्यकारिणी अधिकार नदिएको भन्दै यति ठूलो अन्तर्राष्ट्रिय सम्झौता पत्रमा हस्ताक्षर गर्न पठाउनु सरकारको गल्ती भएको जिकिर गरे ।

सिंहले भने, ‘महाकाली नदीका विषयमा दुई देशबीच सम्झौता हुँदा संसदको दुईतिहाई बहुमतले अनुमोदन गर्नु पऱ्यो, यति ठूलो बहुराष्ट्रिय परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ जस्तो विषयमा सम्झौताको विषयमा संविधानबमोजिम सङ्‌घीय संसदको संयुक्त बैठकको दुईतिहाइले अनुमोदन गर्नु पर्दैन ?’

सरकारको असन्तुलित परराष्ट्र नीतिको परिणामस्वरुप यो सम्झौता भएको सिंहले जिकिर गरे । उनले सरकार देशलाई द्वन्द्वमा फसाउन लागीपरेको उल्लेख गरे ।

उनले नीति तथा कार्यक्रममा दीर्घकालीन, मध्यकालीन र अल्पकालीन हुने बताउँदै दीर्घकालीन र मध्यकालीन नीतिका लागि राष्ट्रिय सहमतिको आवश्यकता पर्ने भए तापनि त्यसमा सरकारले प्रतिपक्षीसँग सहमति नगरेको बताए ।