बाबुराम भट्टराईले भने- हामी थोत्रा माल बेच्न आएका होइनौँ
काठमाडौँ– नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी पार्टी गठन पृथ्वीनारायण शाहपछिको राष्ट्रिय एकता भएको दाबी गरेका छन् ।
आज काठमाडौँमा आयोजित पार्टी घोषणासभामा उनले एकल जातीय राष्ट्रवादविरूद्ध सङ्घीय ढाँचाको राष्ट्रिय एकता भएको दाबी गरे ।
उनले भने, ‘इतिहासमा ठूल्ठूला आन्दोलन गरेका क्रान्तिकारीहरूको एकता भएको छ । झापा विद्रोह, पञ्चायती कालखण्ड, काङ्ग्रेस, माओवादी आन्दोलनका प्रगतिशील क्रान्तिकारीहरूको एकता धेरै देखियो । दोकान थापेर थोत्रा माल बेच्न आएका होइनौँ हामी ।’
बाबुरामले भने, ‘हिजो विभिन्न क्रान्तिकारी पार्टीका अग्रगामी कित्ता आज फरक रूपमा क्रान्ति अगाडि बढाउन समाजवादी पार्टी बनेको छ । अर्को कित्तामा पश्चगामी नेकपा र काङ्ग्रेसहरू छन् । कम्युनिस्टहरूमा केही चमक भए पनि निभ्ने बेलाको बत्ती बलेको हो । हिजो स्टालिनको पालादेखि तानाशाही हुँदै कमाउनिस्ट भएका छन् ।’
समाजवादी पार्टीको गठन सानातिना सटर खोलेर व्यापार गर्न खोलिएको नभएको उल्लेख गर्दै भट्टराईले अर्को छलाङका लागि पार्टी गठन भएको बताए । उनले भने, ‘फेरि अर्को ठूलो छलाङ मार्दै छौँ । यो पार्टीको एकतामात्र होइन राष्ट्रिय एकीकरण हो । हिजो अढाई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले भूगोलको एकीककरण गरे । यो पार्टीको एकता, भाषा, धर्म, जाति, समुदाय र क्षेत्रलाई सङ्घीय ढाँचामा एकता गर्ने राष्ट्रिय एकीकरणको अभियान हो ।’
उनले इतिहासमा एउटा अग्रगामी र अर्को पश्चगामी तथा यथास्थितिवादी भएको र नयाँ पार्टी क्रान्तिकारी भएको दाबी गरे ।
‘हिजोका क्रान्तिकारीहरू पश्चगामी बनेका छन् । हिजो जनयुद्ध गरेको एउटा कित्ता हिजो आतङ्ककारी भन्ने हरूसँग जोडिएर पश्चगामी कित्तामा जोडिएको छ । अर्को कित्ता फरक रूपमा त्यही क्रान्तिकारी झण्डा उठान गर्दैछ । मधेस आन्दोलनको क्रान्तिकारी कित्ता, हिजो झापा सङ्घर्षमा क्रान्तिकारी इतिहास बोकेको एमालेभित्रको क्रान्तिकारी कित्ता अशोक राईहरू हाम्रो क्रान्तिकारी कित्तामा आउनु भएको छ ।’