महन्त ठाकुर भन्छन् - हाम्रो गृहमन्त्रालय भारतीय हो ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

महन्त ठाकुर भन्छन् – हाम्रो गृहमन्त्रालय भारतीय हो ?



काठमाडौँ– नागरिकता लिन भारतीयहरूको लाइन लागिरहेको भन्ने हल्लाले आफूहरूले विभेद महसुस गरेको राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले बताएका छन्।

मधेशमा नागरिकता बाँड्दा यस्तो खालका अफवाह फैलाइने भन्दै उनले प्रश्न गरे, ‘लिन त भारतीयको लाइन लागिरहेको छ। दिने कुर्सीमा को छ?’

दिने कुर्सीमा पहाडी मूलका कर्मचारी नै हुने भन्दै अफवाह फैलाएर आफूहरूमाथि विभेद नगर्न आग्रह गरे। उनले नागरिकताको विषय आउने बित्तिकै श्वास रोकिने अवस्था आइरहेको आराेप लगाए। उनले भने, ‘अहिले पनि हामीले आफ्नै देशमा विदेशी भएको पीडा खेप्‍नु परिरहेको छ।’

पहाडका लागि छुट्टै, तराईका लागि छुट्टै, दिदीका लागि छुट्टै र भाइका लागि छुट्टै कानुन बनाउनुपर्ने जस्ता कुरा उठिरहेको भन्दै उनले आपत्ति जनाए। उनले आफू मधेशी समुदायमा जन्मेका कारण हेपिनु परेको बताउँदै भने, ‘पहाडमा जन्मेको भए आफूलाई नेपाली भन्ने सौभाग्य मिल्थ्याे।’

उनले सिंहदरबारलाई निरंकुशताको जीवित रूपको संज्ञा दिएका छन्। सरकारका गतिविधिहरू निरंकुश शासकका जस्तो देखिएको भन्दै उनले नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै संसदमा यस्तो बताएका हुन्।

सरकारले केही दिनअघि ल्याएको नीति तथा कार्यक्रमले आफ्नो घाउमा नुन छर्केको टिप्पणी गरेका हुन्। संविधानको विरोध गर्दागर्दै सर्वस्वीकार्य रहेको बताएर सरकारले बेइमानी गरेको उनको आरोप छ।
अहिले पनि लोकतन्त्रमा अधिकारको माग गर्दा गोली खाने अवस्था रहेको नेता ठाकुरकाे भनाइ छ।

यो संविधानलाई आफूूले अस्वीकार गर्दै आएको बताउँदै सर्वस्वीकार्य भन्ने शब्दावलीमा आपत्ति जनाए। उनले भने, ‘जुन दिन यो संविधान पारित भयो। त्यो दिन मधेश र थरुहटमा विरोध भइरहेको थियो। जनताले गोली खाइरहेका थिए।’