प्रचण्ड भन्छन : अब राजनीतिमा अर्को धक्का दिन मन छ - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

प्रचण्ड भन्छन : अब राजनीतिमा अर्को धक्का दिन मन छ



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक पर्ने बताएका छन् ।

मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले पूँजीको विकास हुँदैमा समाजवाद नआउने बताए । ‘दलाल नोकरशाही पूँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन,’ उनले भने, ‘चीनले हामी अझै समाजवादको प्रारम्भमा छौं भनिरहेको छ । समाजवादका लागि सचेत धक्का चाहिन्छ । हामीले त्यसकै लागि काम गर्नुपर्छ ।’

कार्ल मार्क्सकै योगदानका कारण वैज्ञानिक समाजवादको विकास भएको दाहालको भनाइ थियो । सर्वहारा वर्गले मात्र नभइ पूँजीवादी शिविर र दुनियाँले पनि कार्ल मार्क्सलाई मानेको उनले बताए ।

हिजो जंगलमा एक्लै सुत्दा पनि जंगलमा नभई करोडौंको बीचमा रहेकोजस्तो लाग्ने गरेको तर अहिले लाखौंको भीड काठमाडौं नै जंगलजस्तो लाग्ने र एक्लो महशुस हुने गरेको दाहालको भनाइ थियो । हिजोको त्याग, उत्साह र अहिलेको अवस्था सम्झिदा विचित्र लाग्ने गरेको उनले बताए ।

‘मार्क्सका सिद्धान्त सार्वभौम छन्, वैज्ञानिक समाजवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, उत्पादन सम्बन्ध सम्बन्धि मार्क्सको खोज र व्याख्यालाई कसैले वैज्ञानिक रुपले खण्डन गर्न सकेको छैन,’ उनले भने ।

कार्ल मार्क्सले जिन्दगीभर सङ्घर्ष गरेको जिकिर गर्दै दाहालले भने, ‘त्यहाँ गाडी थिएन, घर थिएन । जिन्दगीभर दुःखकष्टको जिन्दगी बिताउनुभयो । हामीसँग अहिले घर छ, गाडी छ । तर, कता हरायौं, हाम्रो उर्जा र संकल्प कहाँ गयो ? हाम्रो गल्ती यहीँनेर छ । समीक्षा यहीँ गर्नुपर्छ ।’

एउटा परिस्कृत र परिमार्जित पार्टी चाहिएको टिप्पणी गर्दै उनले भने, ‘हामीलाई क्रान्ति र प्रतिक्रान्तिका अनुभवसहितको विचार चाहिएको छ, कार्यशैली चाहिएको छ, संगठन चाहिएको छ । समाजवादको यात्रामा अघि बढ्ने पार्टी चाहिएको छ ।

महान बहसबाट मात्र सही विचार आउँछ । सही विचार वर्गसङ्घर्ष, उत्पादन सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछ । सही विचार विद्धानले मात्र ल्याउने होइन । मार्क्सले नगरेको भए सर्वहारा विचारको विकास अरु कसैले गर्थ्यो । त्यो कुरा मार्क्सले नै भन्नुभएको छ ।’

नेकपाले २१ औं शताब्दीको विचार र संगठनात्मक सिद्धान्त दिन सक्नुपर्ने उनले बताए । ‘हामीले यो कार्यभार पूरा गर्नैपर्छ, हामीले पार्टीमाथि, जनतामाथि भरोसा गर्नैपर्छ,’ उनले भने ।

आफ्नो राजनीतिक अनुभव सुनाउँदै उनले भने, ‘मैले विश्वका कम्युनिष्ट आन्दोलन जति पढें, क्रान्ति र प्रतिक्रान्तिका अनुभव जति पढें, बुझें, त्यहाँबाट सिकेको त्यही हो । म सानो समहूको महासचिव थिएँ । मैले त्यही पार्टी भत्काएँ । मलाई मेरै पार्टी भत्काउन मन लाग्यो । सानो नाङ्लो पसल थापेर हुँदैन भन्ने लाग्यो । मैले पार्टी भत्काउन थालें । नयाँ पार्टी बनाउने कोशिस गरें । मैले नै ध्रुवीकरणको प्रक्रिया सुरु गरेको थिएँ ।’

सानो बहसको नजिता पनि सानै हुने र ठूलो बहसले ठूलै परिणाम दिने उनको भनाइ थियो । ‘सानो पोखरीमा पौडी खेल्ने कि ठूलो पोखरीमा ? ठूलो बहसले मात्र ठूलो परिणाम दिन्छ,’ उनले भने, ‘हामी समाजवादमा जानुछ, त्यसका लागि महान् विचार, ठूलो संगठन चाहिन्छ । त्यही संकल्पका साथ एकता गरिएको हो । कतिपय साथीहरुले वैचारिक बहस नगरेर एकता गर्न हुँदैन भन्नुभएको थियो । तर, हामीले हिजोकै मान्यतामा बहस गरेको भए एकता हुने थिएन । हामीले शान्तिपूर्ण रुपमा समाजवादमा जाने संकल्पका आधारमा एकता गरेका हौं ।’

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कार्ल मार्क्स द्विशताब्दी समारोहका संयोजक घनश्याम भुषाल र उपसंयोजक राम कार्की लगायतले मार्क्सको दर्शन र आजको सन्दर्भबीच तुलनात्मक चर्चा गरेका थिए ।