प्रचण्डले भने काठमाडौं नै जंगलजस्तो लाग्यो - Himal Post Himal Post
  • ३ चैत्र २०८१, सोमबार
  •      Mon Mar 17 2025
Logo

प्रचण्डले भने काठमाडौं नै जंगलजस्तो लाग्यो



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं नै जंगलजस्तो लागेको बताएका छन् ।

आइतबार कार्ल माक्सको २०१ औं जन्मजयन्तीमा काठमाडौंमा आयोजित ‘समृद्धि र समाजवाद, हामी कहाँ छौं’ कार्यक्रममा प्रचण्डले जनयुद्धकालीन बेला र अहिलेको परिस्थितबारे तुलना गर्दै भीडभाड काठमाण्डु जंगलजस्तो लाग्ने गरेको बताए ।

‘हिजो जंगलमा सुतियो, जंगलजस्तो लाग्दैनथ्यो । लाखौं, करोडौंको बीचमा भएजस्तो लाग्थ्यो,’ प्रचण्डले भने, ‘लाखौंको भीड भएको काठमाण्डुमा अहिले एक्लै हुन थालियो । के भएको हो ?’

अहिले पार्टीका नेता–कार्यकर्तामा जनयुद्धको बेलाजस्तो उर्जा, त्याग र उत्साह नभएको प्रचण्डको भनाइ छ।

‘जनयुद्धको स्प्रीट, त्याग, उत्साह हामीमा कति छ ? भन्दा बडो विचित्र लाग्छ । हामी कता गइरहेका छौं,’ उनले भने, ‘विचार गर्नुस् त विचित्र छैन त कमरेडहरू, काठमाडौंमा करोडौंको बीचमा हुँदा पनि एक्लो भए जस्तो हुन्छ । किन होला ?’

उनले जनयुद्धमा थौरै मान्छे हुँदा पनि संसार जितेझैं आत्मबल आएको तर अहिले लाखौं कार्यकर्ता हुँदा पनि केही गर्न सकिन्न भन्नेजस्तो लागेको बताए ।

‘थौरै मान्छे हुँदा संसार जित्ने आत्मबल आउथ्यो । अहिले पार्टी विशाल छ, तपाईं, हामी एक्लैएक्लै छौं क्यारे भनेजस्तो छ,’ उनले भने, ‘हिम्मत हारेजस्तो, उत्साह मरेजस्तो किन भयो ? समीक्षा गर्नुपर्छ ।’

उनले कार्ल मार्क्स अहिलेका कम्युनिस्टजस्तो सुविधा भोगी नभएको बताए ।