‘मेरो सरकार’ बारे प्रचण्डको सनसनीपूर्ण खुलासा
काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत शुक्रबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग गरेको ‘मेरो सरकार’ शब्दावलीप्रति जानकारी नभएको रहस्य खुलेको छ ।
शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा प्रचण्ड स्वयम्ले यसको खुलासा गरेका हुन् । शनिबार संसदीय दलको औपचारिक बैठक बस्नुअघि सांसदहरूले प्रचण्डसमक्ष यस विषयमा सोधेका थिए । जबाफमा प्रचण्डले यस विषयमा आफूलाई जानकारी नभएको मात्रै बताएनन् आफूलाई दिइएको प्रतिमा ‘मेरो सरकार’ उल्लेख नभएको खुलासा गरे ।
‘मैले राम्रोसँग हेरको हुँ । मैले पढ्दा ‘मेरो सरकार’ थिएन । पछि कहाँबाट घुसाइयो । म भन्न सक्दिनँ’, प्रचण्डले भने ।
प्रचण्ड बोल्दाबोल्दै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली प्रवेश गरेका थिए । त्यसपछि ओलीले यो संसारभरको प्रचलन भएको भन्दै राष्ट्रपतिको बोलीको बचाउ मात्र गरेनन् यसका विरूद्ध नबोल्न सांसदहरूलाई सचेत गराए ।
उनले आफ्नो भनाइ राखिसकेपछि सांसदहरूले यसबारे धारणा राख्न हात उठाए पनि ओलीले समय दिएनन् । ‘मेरो सरकार’ शब्दावलीप्रति धारणा माग गर्न समय मागेका सांसदहरुलाई ओलीले बोल्न रोकेका हुन् ।
सांसदहरु जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र नेतृ रामकुमारी झाँक्रीले बोल्न समय माग गरेका थिए । राष्ट्रपतिले प्रयोग गरेको शब्दावलीमाथि छलफल हुनुपर्ने उनीहरूको माग थियो ।
तर, ओलीले ‘मेरो सरकार’ शब्दावलीको विषयमा बोल्न सांसदहरूलाई रोक लगाइदिएका छन् । शुक्रबार संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले शनिबार नै संसदीय दलको बैठक बोलाएर संशोधन गर्दा गराउने निर्णय गरिसकेको छ । उसले मेरो सरकारको सट्टा नेपाल सरकार लेख्न माग गर्दै संशोधन दर्ता गर्ने भएको हो ।