फोरम–नयाँशक्ति एकता : यस्तो छ वरियता र सहमति
काठमाडौं -संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टीबीच आगामी वैशाख २३ गते एकीकरणको घोषणा गर्ने सहमति भएको छ ।
पार्टी एकीकरण हुने औपचारिक रुपमै सार्वजनिक गरिएपनि दुवै पार्टीबीच एकताको आधार र सहमतिबारे सार्वजनिक गरिएको छैन ।
एकीकरण प्रक्रियामा सहभागी स्रोतका अनुसार एकतापछि ‘समाजवादी पार्टी नेपाल’ बन्नेछ । पार्टीको नाममा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीको कुनै पनि अंश समावेश गरिएको छैन भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबाट ‘समाजवादी’ शब्द मात्रै टिपेर पार्टीको नामाकरण गरिएको छ ।
पार्टी नेतृत्वको सन्दर्भमा पार्टीको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई रहने र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने सहमति भएको बताइएको छ । नेतृत्वको वरियतामा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई पहिलो र उपप्रधानमन्त्री समेत रहेका यादव दोस्रो वरियतामा रहने छन् ।
पार्टी एकताको सहमतिसँगै फोरमले वैशाख २८ गते गर्ने भनेको केन्द्रीय महाधिवेशन स्थगित गरेको छ । अब दुवै पार्टीबीच एकता महाधिवेशन हुनेछ । हाललाई फोरम र नयाँशक्ति पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य सबै यथावतै राखेर पार्टी एकीकरण गरिने प्रबताइएको छ ।
पार्टीको नयाँ विधान बनाइने र चुनाव चिह्न ‘तारा’ राख्न निर्वाचन आयोगलाई आग्रह बताइएको छ ।
उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी छन् भने डा. बाबुराम भट्टराई सरकारका आलोचक मानिन्छन् । फोरमले सरकारबाट फर्किने निर्णय गरेको खण्डमा सरकारले दुई तिहाई गुमाउने छ ।