निर्वाचन गरेर संविधान कार्यान्वयन– मन्त्री पाण्डे - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

निर्वाचन गरेर संविधान कार्यान्वयन– मन्त्री पाण्डे



हिमाल पोष्ट / पोखरा, २८ मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले मुलुकमा सङ्घीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनतर्पm सरकार उन्मुख रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर कास्कीद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आवश्यक कानुन बनाएर वैशाखको पहिलो हप्ता निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

“राज्य पुनःसंरचना आयोगले प्रतिवेदन बुझाउनासाथ सरकार निर्वाचनका लागि अघि बढ्छ”– उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको सम्पूर्ण तयारी गरिसकेको छ ।”

प्रदेश नं २ का केही जिल्लाका सम्बन्धमा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसद बोलाएर निकासका लागि पहिलो चरणको छलफल सम्पन्न भइसकेको बताउँदै मन्त्री पाण्डेले चाँडै नै आयोगले सातवटै प्रदेशको राज्य पुनःसंरचना प्रतिवेदन ल्याउने जानकारी दिनुभयो ।

सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने उल्लेख गर्दै उहाँले सम्पूर्ण दलबीचको छलफलबाट प्रस्तावभित्रका आवश्यक कुरा थपघट गरी सर्वसम्मतिमा पारित गरिने बताउनुभयो ।

मुलुकलाई सङ्क्रमणकालबाट निकास दिनका लागि दलहरु निर्वाचनमा जानुको विकल्प नरहेकामा उहाँको जोड थियो । जनताले प्रतिफलको आशा गरेको विद्यमान अवस्थामा विकास निर्माणका कार्ययोजना छनौट तथा कार्यान्वयनतर्फ सरकारले कडाइका साथ लागिपरेको उहाँको भनाइ छ ।

संसद् विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रम प्रभावकारी बनाउन मन्त्रालयले ४०० भन्दा बढी प्राविधिक मुलुकका निर्वाचन क्षेत्रमा खटाएको उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलन प्रेस सेन्टर कास्कीका अध्यक्ष दीपक परियारको अध्यक्षतामा भएको थियो ।