संचार माध्यामहरूले बाटो बिराए:सञ्चारमन्त्री बाँस्कोटा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

संचार माध्यामहरूले बाटो बिराए:सञ्चारमन्त्री बाँस्कोटा



काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संचार माध्यामहरूले बाटो बिराएको आरोप लगाएका छन। मन्त्री बाँस्कोटाले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई समेत लोकतन्त्रविरोधी देखाउने प्रयास गरिएको भन्दै सञ्चार माध्यामहरूप्रति गुनासो गरेका हुन।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री बाँस्कोटाले संविधानले पूर्ण प्रेस स्वतन्ताको प्रत्याभूति गरेको उल्लेख गर्दै त्यसको प्रयोगमा संकुचन वा कमजोर बनाउने काम हुनै नसक्ने पनि दोहोर्‍याए।

नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता नेपालको इतिहास, भूगोल, खुलापनका कारण पनि संकुचन हुनै नसक्ने मन्त्री बाँस्कोटाको तर्क थियो। मन्त्री बाँस्कोटाले संविधानको मूलभूत मान्यताभन्दा बाहिर गएर कानुन बनाउने आशंका नगर्न आग्रह गरेका थिए। सरकार लोकतन्त्रको विश्वव्यापी मान्यतामा एकाकार र सहमत भएर अघि बढ्न प्रतिबद्ध रहेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमैत्री कानुन निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए। उनले प्रेस स्वतन्त्रता सुनिश्चित गर्नु आज पनि चुनौतिको रूपमा रहेको पनि दोहोर्‍याएका थिए।

अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रको रक्षाका लागि जवाफदेही भएर पत्रकारिता गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए। कार्यक्रममा मन्त्री बाँस्कोटाले दक्षिण एशीयाली प्रेस स्वतन्त्रतासम्बन्धि प्रतिवेदन सार्वजनिक गरेका थिए।