कविता : भोकको भित्तो
— जीविका अश्रु
मलाई अस्पताल पटक्कै मन पर्दैन
त्यहाँ जे पनि हुन सक्छ
निमेषभरमै एउटा जिन्दगी
मृत घोषित हुन सक्छ
मृत शरीरमाथि लालची राजनीति हुन सक्छ
आमाका मारवाडीहरू
खोलिन सक्छ्न्
राखिन सक्छन् धरौटीमा पत्नीका तिलहरीहरू
अथवा, लोग्नेको सञ्चयकोष रित्तिन सक्छ
न्यूनतम रकमको धितोमा फस्न सक्छन् धानखेतहरू
ठूलाघरेहरूको फस्टाउन सक्छ व्यापार ।
जबसम्म खाली हुँदैन खल्ती,
त्यहाँ लासकोपनि उपचार चलिरहन्छ
मर्नु कुनै अनौठो कुरा हुँदै हैन
र, बाँच्नुपनि उस्तो ठूलो उपलब्धि नमानौँ
मर्नु–बाँच्नु नियति हो,
स्वीकार्नु नै पर्छ ।
कुरो अवस्थाको हो
अस्पतालमा अवस्थाको बेमौसमी खेती भइरहन्छ
कति माहिर छन् खुन चुस्न
हामीले मानेका भगवानहरु
राखिदेऊ तिनका सामु एउटा भोको मान्छे
र, सोध— बाँच्ने उपाय,
सोध— विनम्रताका साथ उपचारविधि
मिठो बोलीमा भन्नेछन्—
समस्या गहिरो छ, कोसिस गर्नेछौँ
अनि, लेखिदिनेछन ,
लालची मसीले एक पाथी ओखतीको सिफारिस
अस्पतालका भोका भित्ताहरूले कहिल्यै बुझ्दैनन्
भोको मान्छेको आवश्यकता
औषधि हैन रोटी हो ।
००/