कथा : टुहुरी
-अञ्जना केसी थापा
‘आमा !’
‘के भयो कान्छी ?’
‘मेरो ढाड चिलायो, कन्याइदेऊ न?’
‘लु घोप्टी पर त !’
म मेरी आमाको काखमा टाउको राखेर घोप्टिएँ । आमाले मेरो ढाड कन्याइदिइन्, कपाल सुमसुम्याइरहिन्, एउटा सानो बालकलाई स्नेहका साथ काखमा राखेजस्तो गरेर।
मैले मेरो टाउको फर्काएर आमाका आँखामा हेरेँ, कपाल फुलेर सेतै भएछ, गाला चाउरिएर खोल्सै खोल्सा, निराश अनुहार, दाहिने कुममा फाटेको पुरानो कलेजी मखमलको चोलो, टाउकामा आधा कपाल देखाएर बाँधेको रुमाल, सासमा आमाको गन्ध, आहा ! कस्तो आफ्नोपन, आत्मीयता, सामीप्यबोध । आमाको यो ममता, यो काख अनि यो निकटतालाई म कुनै शब्दले परिभाषित गर्नै सक्दिनँ।
संसारकै भाग्यमानी महसुस गर्दै म उनकै काखमा पल्टिरहेकी थिएँ । आफ्नो पोल्टाभरिको सबै ममता मलाई खन्याइरहेकी थिइन् उनी । म एक्लै के–के बोल्दै थिएँ, आमा सुन्दै थिइन्, कति खुसी सुनाएँ, कति मेरा पीडा सुनाएँ, गुनासा सुनाएँ, के–के सुनाएँ कुन्नि ? थुप्रै कुरा सुनाएँ । म उनको भाव राम्ररी बुझ्थेँ । खुसीका कुरा सुनाउँदा मुस्कुराउँथिन्, दुःखका कुरा गर्दा भावविह्वल हुन्थिन्, तैपनि आमा चुपचाप थिइन् ।
मेरो कपाल सुमसुम्याउँदै गरेकी आमाको हात समात्दै मैले भनेँ, ‘आमा ! मलाई छोडेर अब कतै नजाऊ है ?’
उनी केही बोलिनन् ।
उनले मेरो हात छुटाइन् । आफूमा एकदमै असजिलो बोध भएजस्तो गरी, मेरो टाउको विस्तारै आफ्नो काखबाट हटाएर भुइँमै छोडिदिन्, उनी नबोली जुरुक्क उठिन्। आँखाभरि पानी छचल्क्याउँदै मेरो अनुहारमा हेरिन् । मधुरो प्रकाशमा पनि मेरी आमाको गोरो अनुहार प्रष्ट देखिन्थ्यो। तर, उनी हिँडिन्, मलाई फर्केर पनि नहेरी गइन्, म ‘आमा मलाई छोडेर नजाऊ न’ भन्दै रोएँ; चिच्याएँ, कराएँ, उठेर पछिपछि दौडिन खोजेँ ! मेरा खुट्टा चलेनन्, कसैले अँठ्याएजस्तो, बाँधेजस्तो अनुभव भयो, न उठ्न सकेँ, न आमापछि दौडिन नै । मात्र जोडले कराएँ ‘आमा…… !’
मेरा आँखा खुले । म त बेडमै पो रहेँछु, आमाको त्यो काख अनि ममता, त्यो स्पर्श अनि सामीप्यता, केवल सपना पो रहेछ ।
मेरो मुटुको धड्कन तीव्र थियो; आँखा र अनुहार आँसुले पोतिएका थिए; सपना र आमा सम्झिएर क्वाँ….क्वाँ… गर्दै डाको छोडेर रोएँ । मन हल्का होस् भनेर।
कोठा अँध्यारो थियो, बत्ती बाल्न मन लागेन, अँध्यारो कोठामा मोबाइल खोजेँ, छामेँ जताततै; सिरानीमै भेटियो । मोबाइलमा समय हेरेँ, रातको १ बजेको रहेछ । मन एकदमै खिन्न भयो, साँच्चिकै मेरी आमा मेरो जिन्दगीमा भइदिएको भए कस्तो हुने थियो होला ! त्यो सपना लामो भादिएको भए ! सपनामै भए पनि आमाको काखमा रात बिताउन पाएको भए ! मनले यस्तै सोचिरह्यो, फेरि सुत्न मन लागेन । एक मनले त सोचेँ- म निदाएँ भने सपनामा फेरि आमा आउँछिन् कि त ? निदाउनै पाए पनि जाती हुन्थ्यो ।
तर, कसरी ? कहाँ बिर्सेकी छु र त्यो अतीतलाई ! सबै आलै छन् । सम्झना मात्र सेलाएको थियो । सपनाले ताजा बनाइदियो । बाल्यकालदेखि जतिबेला मेरी आमाले संसार छोडिन् सायद त्यही दिनदेखि निद्रादेवीलाई सँगै लिएर गइन् ! त्यसैले बडो मुस्किलले बोलाउँछु निन्द्रादेवीलाई । कहिले आउँछिन्, कहिले कता हराउँछिन् थाहै हुँदैन !
मोबाइलको उज्यालामा बेडको सिरानमा राखिएको बाआमाको फोटो हेरेँ ! बाआमाका चार आँखाहरूले मलाई एकटक हेरिरहेका थिए । एकपल्ट त्यो फोटोलाई चुमेँ, अनि छातीमा टाँसेर फेरि भक्कानिएँ । बत्तीको उज्यालोमा बाआमालाई फेरि हेर्न मन लाग्यो । बत्ती बालेँ । ब्ल्याक एन्ड ह्वाइट फोटामा कैद भएका बाआमाका चार आँखाले मलाई निर्निमेष हेरिरहेका थिए । मसँग बोलेजस्तो लाग्यो !
‘नरो छोरी ! बाआमा नहुने टुहुरी त मात्र छैनस्, यो संसारमा बाआमा गुमाउने थुप्रै सन्तानहरू छन् । उनीहरूलाई हेरेर पनि तैँले चित्त बुझाउनुपर्छ । फरक यति हो, तँ सानो छँदा नै हामीले संसार छोड्नुपऱ्यो । हामीलाई क्षमा गर्दे कान्छी ।’
दिमागी रिलको भावुक अंशहरू खोतत्लिन थाल्छन्, पुराना नमिठा यादहरू । न ती यादहरू पानीमा बगाउन मिल्छ, न आगोमा जलाउन । याद आउँछन्, मलाई सोला हान्छन्, पीडा थप्छन् ।
कहिलेकाहिँ श्राद्ध, चाडपर्व, औंसी अनि मलाई दुःख पर्दा सपनामा आउने मेरी आमाले मलाई ११/१२ वर्षमा नै छोडेर गएकी थिइन् । ममात्र होइन मभन्दा दुई वर्ष सानो भाइ पनि थियो । हामी ती दिनहरूमा आमासँगै सुत्न सधैँ झगडा गर्थ्यौँ । तर, भाइलाई खुसी बनाउँदा मेरो चित्त कहिल्यै दुखाइनन् । भाइ र म झगडा गर्न थाल्यौँ भने आमाले लामा–लामा कथा सुनाउँथिन्, हामी खुसी हुन्थ्यौँ । अन्तिममा आमाको दाहिने हातको सिरानी भाइले बनाउँथ्यो, देब्रे हातको सिरानी म बनाउँथे; र हामी निदाउँथ्यौँ ।
आमा कति निश्चल थिइन्, कति कोमल, हरेक दुःखसुखमा कहिले रिसाएको याद छैन मलाई । सिङ्गो परिवारलाई मायाको डोरामा बाँधेर राखेकी थिइन् । वास्तवमा हरेक सन्तानलाई आफ्नी आमा विशिष्ठ नै लाग्दो हो । तर, हरेक विशिष्ठताभित्र पनि हाम्री आमा पृथक थिइन् झैँ लाग्छ।
दैवले रुवाउनु रुवायो । आमा बितेको केही अवधिपछि नै बालाई पनि लग्यो। दैव कति निष्ठुर ! हाम्रो खुसी हेर्न सकेन, लग्यो चुँडेर असमयमै ।
जहाँ म जन्मिएँ, हुर्किएँ, पढेँ, बढेँ, त्यो गाउँमा बाआमा नहुने हामी मात्र थियौँ, मेरा उमेरका सबै साथीभाइ आफन्त सबैका बाआमा थिए । स्कुल जाँदाआउँदा आफ्नी आमाका कुरा गरेर थाक्दैनथे । आमाले यो किन्दिनँ, बाले यो; आज यो ल्याइदिन् मामाघरबाट, बाले बजारबाट यो । यस्तैयस्तै भन्थे साथीहरू। लाग्थ्यो मलाई हेपिराछन् वा गिज्याइराछन्। म चुपचाप सुनिरहन्थेँ । मसँग कुरा गर्नका लागि शब्द हुँदैनथे । उनीहरूको कुरा सुन्नु शिवाय म केही बोल्न सक्तिनथेँ ।
त्यसो त गाउँमा कठै भन्ने मान्छेहरू धेरै थिए, भन्थे ‘बरा ! बालखैमा छोडेर गए, घरमा दाइ भाउजूले माया त गर्छन नि ? खान त दिन्छिन् नि ?’ कोही भन्थे, ‘आफ्नो जन्म दिने आमा नभएपछि भाउजूको जात त्यस्तै हो ।’ कोही सम्झाउँथे, ‘हेर कान्छी, तेरा बाआमा छैनन्, दाइ भाउजूलाई मुखमुखै नलागेस्, क्यारचौ त नि ? बा–आमा टोकिहाल्यौ केरे ! आफ्नै भलाइको लागि कोरीको नि पाऊ मोल्न पर्च भन्छन् ! काम प्यारो हो बरै ! पढाइसढाइ भन्दा नि काम अरेर भाउजूलाई खुसी पारेस ।’ कोही आफ्नै भन्नेले पनि रमिता देख्न पाइयोस् भनी केके भनेर उक्साउँथे । म कुरा सुन्दासुन्दा आजित भइसकेकी थिएँ। आफ्नो पीडाको भारी एकातिर, मान्छेले बोलेका शब्दको बोझ अर्कातिर ।
स्कुल जाँदा काम गरिसकेर जानु पर्थ्यो । फर्किआएर पनि काम गर्थेँ । साँझ परेपछि आमाको याद र बाको मायाले एकदम सताउँथ्यो । भाइको अनुहार हेरेर भक्कानो छुट्थ्यो । भाइको शरीरमा पुरुष रगत दौडिरहेको थियो । त्यसैले सायद कठोर थियो । चुपचाप मलाई हेरेर बस्थ्यो, दाह्रा किटेर सहन्थ्यो । आँसु कहिल्यै देखाएन । पीडा त मलाई भन्दा बढी हुन्थ्यो होला, तर उसले सबै पीडा निलिदिन्थ्यो । मैले आफ्नो मनको कुरा सधैँ लेख्थेँ, मनमा लागेका हरेक कुरा, पीडा । कापीलाई आमा बनाएकी थिएँ । कापीमा आमालाई सम्बोधन गरेर लेख्थेँ, लेख्दै रुँदै गर्थेँ । मेरो आँखाबाट बगेका आँसुले कलमको निबबाट निस्किएका अक्षरहरू पनि रोएर लतपत हुन्थे ।
बाआमाका सन्तान म र भाइ मात्र थिएनौँ । दाइ र दिदी पनि थिए । उनीहरूलाई सम्हाल्ने त आफ्नै थिए । दाइ सम्हाल्ने भाउजू थिइन्, दिदी सम्हाल्ने भिनाजु । तर, भाइ र मलाई कसले सम्हाल्ने ! चाडबाड आउँथे, सबैका घरमा रमाइलो हुन्थ्यो । म सोच्थेँ, किन आएका होलान् यी तीज, दशैँ अनि तिहार। मलाई गिज्याएजस्तो लाग्थ्यो । हरेक साँझ अँध्यारो धर्तीमा ओर्लँदा म नाबालक शिशुजस्तै आमाको काख खोजिरहन्थेँ । हुरीबतास आउँदा म बाटो हराएको बटुवाजस्तै आमाको हात खोजिरहन्थेँ ।
जतिजति दिन बित्दै गइरहेका छन्, जति मेरो उमेर बढ्दै गइरहेको छ, यादहरूले झन्–झन् ताजा भएर मुटुमा सोला हानिरहन्छन् । साँच्ची भनूँ भने यो दुनियाँमा वेदना भन्नका लागि कुनै भाषा हुँदैन । मेरा बाआमाको अभाव म शब्दमा व्यक्त गर्नै सक्दिनँ।
यतिबेला फेरि आमाको मुख हेर्ने दिन घुमेर आइरहेको छ। औँसीका लागि भनेर बजारमा सामानहरू सजाइएका छन् । मीठा परिकार बनाइएका छन्, यतिञ्जेल आफ्नी आमालाई सन्चोबिसन्चो सोध्नलाई एक कल नसम्झने छोराछोरीहरूलाई औँसीको आगमनसँगैको चहलपहलमा व्यस्त देखिरहेकी छु । मलाई पनि एउटा अव्यक्त चाहनाले भित्रैदेखि कोतरेर ल्याउँछ । सोच्छु, मेरी आमा पनि हुँदी हुन् त म उनका लागि केके गर्थेँ हुँला । अब त म आफू पनि केही गर्न सक्ने भएकी छु; आफैँ कमाउन सक्ने भएकी छु । राम्रो लुगा किनिदिन्थेँ होला, मीठो खानेकुरा आफ्नै हातले पकाएर ख्वाउँथे होला । कतिपयले जस्तो आमाको सेवा गर्न औँसी कुर्दिनथेँ होला ! जीवनमा सबथोक भए पनि आमाको अभाव सधैँ खड्किइरहँदो रहेछ।
जीवित प्राणीको नाताले वास्तविकतालाई स्वीकार गर्नै पर्दोरहेछ, आमा यो संसारमा छैनन्, यो सत्य हो, जीवन अन्त्येष्टिको बाटो हो । यो तीतो यतार्थ हो । यथार्थबाट टाढा भाग्न पनि सक्दिनँ । तर, आमाको यादले विचलित बनाउने कुनै पर्व, वा औँसी आएर मलाई सधैँ नरुवाइदिओस् जस्तो लाग्छ ।