कथा : डि.भी... - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

कथा : डि.भी…



-हरिमाया भेटवाल

ऊ त गयो हाँस्तैहाँस्तै, आँखामा एउटा रङ्गिन सपना बुन्दै तर म ….! म भने भित्रभित्रै रोईरहेको थिएँ, बुनिएका आफ्ना सपनाहरू आफ्नै आँखासामु धडाधड उध्रिएको देखेर । त्यसैले त मैले केही बोल्नै सकिनँ, वाक्य नै हरायो । ऊ भने हात हल्लाउँदै बिस्तारै मेरो आँखाबाट बिलायो । एकपटक फेरि अन्तिममा उसको अनुहार देखिन्छ कि ! यहि आशाको त्यान्द्रो समातेर म उभिइरहेँ, त्यही ठाउँमा जहाँ उभिएर अघि मैले उसलाई बिदा गरेको थिएँ । तर अन्तिममा आशा निराशामा परिणत भयो, जब ऊ बिलाएजस्तै बिलाइ गयो आकाशमा ऊ बसेको हवाईजहाज पनि । मैले उसलाई त्यहाँ छाडेँ, जहाँ उसले मलाई छाड्यो । अब म कहाँ जाऊँ? रनभुल्ल मन, अलमल्ल पाइलाहरू बिस्तारै बाहिरिए एअरपोर्टको परिधि नाघेर ।

मन पनि गाडीहरू जस्तै हुँइकिरहेको थियो । गाडी चड्न मन पनि भएन । त्यसैले लठ्ठीकै सहारामा सुरु गरेँ एउटा गन्तब्यहीन यात्रा । मनले त निधो गर्नै छोड्यो, अब त बस ! मभन्दा अघि हिँडिरहेको त्यो  लठ्ठीले मलाई जहाँ लान्छ त्यहीँ जानु मेरो नियति ! हुन पनि जिन्दगीको सहारा भनेकै तिनै दुईवटा लठ्ठी त थिए । एउटालाई आफ्नो रगतले हुर्काएको अर्को त काठलाई खुर्काएको । काठे लठ्ठी त अझै छ हातमै तर रगतको त्यो लठ्ठी ? त्यो त फुत्कियो आज मबाट । सायद अब कहिले भेटुँला वा नभेटुँला ! मनमा त्यत्तिकै अत्यास बढ्न थाल्यो । तन मात्र हैन मनै काँम्यो, बूढ्यौलीले खर्लप्प छोपेको यो जीउलाई त्यो मसिनो काठे लठ्ठीको सहाराले उभ्याउन पनि हम्मेहम्मे भो मलाई त्यसैले थचक्कै त्यही सडकछेउको पेटीमा बस्न पुगेँ । चलेको हावाहुरीको पनि केही मतलब नै भएन । मनभित्र त आँधीबेहरी चलिरहेको थियो र त्यही आँधीबेहरी पछिको बर्षा आँखाबाट । चाहेर पनि रोक्नै सकिनँ मैले त्यसलाई । दरदर्ती दर्कियो गहलाई काटेर । त्यसैले रोईरहेँ धेरबेर सडकपेटीमा बसेर । बहत्तर बर्ष पुग्दाको आजको यो जिन्दगीसम्म सायद नै म यति धेरैबेर कहिल्यै पनि रोएको थिइनँ होला जति आज एक्लै बसेर रोएँ । बाउ मर्दा यसरी रोइनँ म, किनकि त्यसबेलामा वेदनाग्रस्त आमाले नै बीचमा सम्हालिन् मलाई । पछि आमा मर्दा पनि जीवनसँगिनीले साथ दिई मलाई । त्योभन्दा पछि त्यही जीवनसँगिनीले आँखै अगाडि संसार छोड्दा डाको छोडेर रोएको थिएँ म । संसारै अँध्यारो लाग्यो मलाई र त्यो बिकराल अँध्यारोमा आफू एक्लै भएको महसुस भयो भित्रभित्रै । त्यसैले पनि विरहमा बहुलाझैँ बनेर छातीमा पीडा र मनमा अत्यास बोकेर कति रोएँ रोएँ तर त्यसबेलामा पनि त्यस अँध्यारालाई चिरेर एउटा मधुरो र न्यानो धिपधिपे किरण मेरो अघि देखा पऱ्यो छोराको रूपमा ।

“बाबा, प्लिज नरुनुस्, आफूलाई सम्हाल्नोस् । तपाईँले यसरी आँसु झारेर लत्तो छोड्ने हो भने, यसरी आँट हराउँने हो भने मेरो के गति होला यहाँ ? मामुले संसार छाडेपछि अब तपाईँ मेरो बाबा मात्रै हैन मामु पनि हुनुभयो, संसारमा अब मेरो भन्नु तपाईँ मात्र हो ! मेरा लागि तपाईँले र तपाईँका लागि मैले बाँच्‍नुपर्छ । प्लिज नरुनुस्, सुर्ता नगर्नुस् बाबा म छु नि तपाईँको छोरो, तपाईँको बिबेक ,तपाईँको बाँकी जीवनको सहारा दिने लठ्ठी ।” उसले मलाई यसरी सम्झायो कि म अवाक् बने । उसको प्रतिभाशाली वाक्कलाले उपस्थित सबैलाई कायल गरायो । सबैले उसको बुद्धिमानीको कदर गरे । म त के बोल्नु र ! बस टोलाईरहेँ आँखाभरि आँसु पारेर । वेदनाले केही बोल्नै सकिनँ । जे जति बोल्यो उसैले बोल्यो । साँच्चै नै त्यसपछिका दिनहरूमा हामी एकअर्काकै लागि बाँच्दै थियौ । जिन्दगीलाई एक-अर्कामा समर्पित गरेर । हेर्दाहेर्दै शरद्, हिउँदहरूले क्रमश: फड्को मार्दै गए । उसले पढाईमा पनि निक्कै  फड्को मार्दै गयो । उसको उन्नति र प्रगति देखेर मनमा एउटा आंशिक सन्तोष जाग्थ्यो तर पूर्ण सन्तोष डिग्री पाए जस्तै यसले एउटा जागिर पाए ! ओहो त्यसपछि त एउटीलाई बुहारी बनाएर भित्र्याईहाल्थेँ म । अनि त मेरो आँगनीमा नातिनातिनाको हाँसो गुञ्जायमान हुन्थ्यो । यस्तैयस्तै कल्पिन थालेको थिएँ म ।

“तपाईँको पहिलो सपना पूरा गर्न गाह्रो भो बाबा मलाई ।” उसको थकित आवाज मेरो कानमा ठोक्कियो एक दिन ।

“डिग्री पाएँ तर जागिर पाउँन सकिनँ ।” नीरस स्वरमा बोलिरहेको थियो ऊ ।

“किन पिर गर्छस् ? प्रयास गर्दै जा न एक दिन पाइहाल्लास् नि । बरु मेरो अर्को सपना ….!” बुढ्यौलीको दिन कसो नआउला ? दिन कसो नफेरिएला त भन्ने आशा मनमा गुम्स्याउँदै दिन कटाउने कार्यमा लागिरहेँ तर एक्कासी एक दिन मेरो आशा निराशाको खाडलमा यसरी जाकिन पुग्यो कि छट्पटाउन समेत गाह्रो भो मलाई ।

“बाबा मलाई डि.भी पर्यो ।” दङ्गै परेर सुनायो मलाई हतारिँदै उसले ।

“हेन के भन्या यो ।” झस्किएर काँम्दै सोधेँ मैले ।

“हैन भन्या साँच्चै, अमेरिका जान पाउने भएँ म । धेरै दिन अगाडि एउटा साइबरमा छिरेर हावा तालमा एउटा फाराम भरेको थिएँ, अहिले त ठ्याक्कै ।” हावा जसरी सुरसुराउँदै बोलिरहेको थियो ऊ । मेरो हंसलाई भने यहाँ आँधीबेहरीले हुर्हुराइरहेको थियो । यो कुरा सुनाउँदा ऊ भित्रदेखि रमाईरहेको थियो । म भने भित्रैदेखि काँपिरहेको थिएँ ।

“भनेपछि तँ अमेरिका जाने दाउमा ?” अकमकिएको आवाज निस्कियो मेरो ।

“लौ किन नजाने ? कन्फर्म जाने नि ! घरकै दैलोमा आएको यस्तो मौका किन चुकाउने ?” निर्धक्क बोलिरहेको थियो ऊ ।

“तँ जाने अनि म ? धकाएर बोल्दै थिएँ म ।”

“लौ म मात्र कहाँ हो र ? तपाईँ पनि जाने हो । मलाई डि.भी परेपछि तपाईँ पनि जान पाउनुहुन्छ अब ।” ऊ त मजाले बोलिरहेको थियो ।

“यहीँ जन्मिएँ, यहीँ हुर्किएँ, यहीँ बढेँ । अब यो बूढ्यौली उमेरमा ठाउँ सरेर जाँदा कहाँ सन्तुष्टि पाउँछु र मैले ?” म नमजाले बोलिरहेको थिएँ ।

“हेर्नुस् बाबा यस्तो अवस्थामा तपाईँले आफ्नो सन्तुष्टि खोज्‍ने हो भने यहाँ मेरो मनको सन्तुष्टि हराउँछ, बिलाउँछ त्यो मनमा त असन्तुष्टि मात्रै रहन्छ” । चित्तदुखाईलाई लुकाई राख्‍न सकेन उसले ।

“म के गरौँ त ? यो ठाउँ यो गाउँ म कसरी छोड्न सक्छु ? यो घरको प्रत्येक इँटामा मेरो जीवन कुँदिएको छ, तेरी मरेकी आमाको सम्झना कुँदिएको छ, यसलाई चटक्कै छाडेर ….” बोल्दाबोल्दै भक्कानिन पुगेँ म ।

“तपाईँ यस्ता कुरा छोराका लागि छोड्न सक्नुहुन्न ! म अमेरिका जाने यो सजिलो मौका कसरी छोड्न सक्छु ?” बोल्दाबोल्दै झोँकिनै पुग्यो ऊ पनि ।

“त्यसो भए तँ जा, म यही माटामा मर्छु, यही माटामा बिलाउँछु । मर्ने बेलामा मलाई जानु छैन त्यो कुइरेको देशमा ।”  म पनि के कम ! आखिर बाबु पो थिएँ त ।

हुरीबतास आयो, हुन्डरी चल्यो तर त्यसपछि आँखाबाट अविरल बर्षा हुन थाल्यो उसको । एक्लो छोराको इच्छा म आफू मरेर पनि मार्न सक्दिनथेँ ।

“जे गर्छस् गर्, तेरो भविष्य बनाउँने तँ आफैले हो । म त डाँडामाथिको घाम हुँ कुन बेला अस्ताउँछु केही ठेगान छैन तर तैले चाँहि आफ्नो ठेगान दरो पारेस् । मलाई कर नगर्नू म जान्न । के गर्नु पर्छ भन्नु मैले सकेको पुऱ्याइदिऊँला ।” मनलाई मारेरै मैले बोलेपछि ऊ आफ्नो तयारीमा हिँड्यो ।

हो त्यही बेला सोचेँ मैले- मेरो बुढ्यौलीको लठ्ठी भाँचियो, मेरो सपना-जपना सबै चकनाचुर भयो अहिले ।

“बाबा डकुमेन्ट तयार गर्नु छ, एम्बेसीमा बुझाउनका लागि” दौडादौडीको केही दिनपछि भन्यो उसले ।

“मैले के गर्नु पऱ्यो ?” भावहिन भएरै सोधेँ मैले ।

“अलिकति पैसा चाहियो ? असीनब्बे हजार ।” सरररै आफ्नो कुरा राख्यो उसले ।

“ओहो त्यत्रो पैसा त मसँग ….” म अलमल्ल परेँ ।

“जसरीतसरी निकाल्नै पर्छ, घर बन्धकी राखेर भए पनि निकाल्नै पर्छ ।” कानमा मात्रै हैन मनमा समेत चट्याङ पाऱ्यो उसको योजनाबद्ध कुराले ।

“प्लेनकै भाडा रहेछ पैतालिस पचास हजार के गर्ने ? यस्तो मौका फुत्क्यो भने त …!” उसको बोली गोलीझैँ बर्सँदै थियो मेरो छातीमा । “ठीक छ त्यसै गरौँला ।” पीडाले छटपटाउँदै बोलेँ म ।

“पिर गर्नु पर्दैन बाबा ! मैले काम पाउँने बित्तिकै पैसा पठाईहाल्छु । अनि घर निखन्नु होला ।” निराश मान्छेलाई आस देखाएर गयो ऊ, योजना कार्यान्वयन गर्न ।

“त्यति पैसाले त नपुग्ने रहेछ बाबा, त्यहाँ पुगेपछि काम नपाउन्जेल खानबस्न, एअरपोर्ट ट्याक्स मनि, सो यताउता गर्दा त चार-पाँच लाख चाहिने देखियो ।”  लगत्तै फर्केपश्चात् उसले फेरि आफ्नो समस्या राख्यो ।

“यत्रो पैसा त म कुनै हालतमा पनि जुटाउन सक्दिनँ ।” गलेरै बोलेँ म ।

“मेरो प्रोसेस त अन्तिममै पुगिसक्यो अब तपाईँले साथ दिनुभएन भने त ….” घचघच्याइरहेको थियो ऊ मलाई ।

“नसक्ने कुरालाई म कसरी सक्छु भनूँ ?” अलमल्ल उसको अनुहारमा टोलाउन पुगेँ म ।

“यो घर बेचिदिनुस् ।” सजिलै बोल्यो ऊ तर मलाई गाह्रो भयो उसको अनुहारसँग आफ्नो अनुहार जुधाउन ।

“घर बेचेर म कहाँ बस्ने ?” स्तब्ध भएर बोलेँ म ।

“एउटा कोठा बहालमा लिएर बसे भईहाल्यो नि ।” कति सजिलै बोल्दै थियो ऊ,मलाई सुन्न समेत गाह्रो हुनेगरी ।

“हेर्नोस् बाबा तपाईँ छउन्जेल नेपालसँगको मेरो नाता …पछि त सायद म आउँला या नआउँला पनि ! मलाई यो थोत्रो घरको के काम ?” ऊ दृढ भएरै बोल्यो तर म उसको दृढतामा मात्र डराउन पुगेँ ।

“थोत्रो घरको काम छैन, अनि म बूढो भैसकेको बाउको पनि काम छैन ?” कुरामा मात्र हैन अमेरिकाको सपनाले उसको व्यवहारमा पनि बारूद मिसिएजस्तो लाग्यो मलाई । त्यसैले प्रतिवाद गर्नु ब्यर्थ, कतै मेरो कुराले तातेर विस्फोट पो हुने हो कि ! मैमाथि खनिने पो हो कि ! हेर्दाहेर्दै सबै छताछुल्ल भयो, मेरो पितापुर्खाको नासो, बाल्यकालदेखि बूढेसकालसम्म मलाई आश्रय दिएको, मेरो सँगिनीसँगको सम्झना गाँसिएको मेरो ओत, मेरो प्यारो घर बिक्यो । त्यसपछि डेराको त्यो सानो कोठामा सबै सामानहरू अटाउन सकेनन् । त्यसैले जीवनमा मैले रहरले जोडेका, मेरो सँगिनीले रहरले जोडेका ठूला-साना कतिकति सामानहरू अलपत्र त्यसै-त्यसै छोड्नु पऱ्यो । अरूलाई बाँड्नु पऱ्यो । अनि आवश्यक सामानहरूको पोकापन्तुरा बाँधेर म डेराको सानो खोरमा बाँकी बचेखुचेको जीवन जिउन भित्रिएँ । अनि त्यसपछि त्यो दिन पनि आयो जुन दिन मेरो आशा-भरोसा, मेरो बूढ्यौलीको लठ्ठी बाहिरिने भयो, विदेशिने भयो । बस…! ऊ खुशीमा रमाउँदै रमाउँदै मेरा साथमा एअरपोर्ट पुग्यो, म दुख:मा भित्रभित्रै रुँदै उसलाई पुऱ्याउन एअरपोर्ट पुगेँ । हेर्दाहेर्दै ऊ प्लेनमा चढ्यो, आकाशमा बिलायो र म फर्किएँ । सडकको यो पेटीमा रुँदारुँदै आँसु सकिइसकेको थियो क्यारे झर्न छाडिसकेको थियो । अघिअघि बगेको आँसुले अनुहार भिजेको थियो । के गर्नु अमेरिकन डि.भी.ले त्यसलाई एउटा गन्तब्यमा दौडायो, मलाई यो बूढ्यौलीमा गन्तव्यहीन यात्रामा हिँडायो ।