घोडाघोडीका बटुकहरुलाई खाद्यान्न वितरण

विशाल पाण्डेय / सुखड,कैलाली ।
जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको धार्मिक स्थल घोडाघोडी मन्दिरमा बसोबास गर्दै आइरहेका बटुकहरुलाई खाद्यान्न वितरण गरिएको छ ।
सुदुर पश्चिम् प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको आग्रहमा मन्दिरमा बसोबास गर्दै आइरहेका बटुकहरुलाई चामल , दाल, तेल लगायतका अन्य खाद्यान्न सामग्रीहरु मुख्य मन्त्रीका स्वकीय सचिव शिव सिंह ओलिको रोबहरमा बुधबार वितरण गरिएको हो ।
स्थानीय मिडियाहरुमा त्यहाँ बसोबास गर्ने बटुकहरुलाई बस्न तथा खानको समस्या परेको कुरा सुनेर मुख्यमन्त्री भट्टले तत्कालका लागि आफ्नो व्यक्तिगत तर्फबाट खाद्यान्न सहयोग गर्नुभएको मुख्य मन्त्रीका स्वकीय सचीव ओलिले जानकारी दिए ।
केही दिन अघि धार्मिक तथा पर्यटकीय स्थलमा रहेको घोडाघोडी मन्दिर तथा ताल क्षेत्रको अवलोकन गरि यहाँको विकासको लागि मुख्य मन्त्री भट्टले चासो देखाउनु भएको स्वकीय सचीव ओलिले बताए । दीर्घकालीन रुपमा मन्दीर तथा तालको विकासका लागि प्रदेश सरकारलाई छिट्टै योजनाहरु बनाउन आग्रह गर्ने बताउदै ओलिले सनातन धर्म तथा गुरुकुल शिक्षाको संरक्षणका लागि सबै लाग्नुपर्ने समेत बताए ।
बिराट सनातन धर्म संस्कृती संरक्षण सम्बर्द्धन प्रतिष्ठान घोडाघोडीका सचिब तथा संस्कृति वेद विद्या आश्रमका प्राध्यानध्यापक शंकर सन्ज्यालले बटुकहरुलाई बस्नको समस्या भएको हुनाले सबैको सहयोगले उक्त गुरुकुल भवनको निर्माण गरेको बताए । उनले तत्कालको लागी गुरुकुलमा खान, बस्न तथा झुलको समस्या भएको बताए । सहयोगी सम्पुर्णमा धन्यवाद दिदै सन्ज्यालले गुरुकुल शिक्षा तथा घोडाघोडी मन्दिरका लागी प्रदेश सरकारले दीर्घकालीन रुपमा सहयोग गर्नु पर्ने जिकिर गरे ।
करिब ३५ जना बसोबास गर्दै आइरहेका बटुकहरुलाई स्वकीय सचीव संगै अन्य ब्यक्तिहरुले समेत खाद्यान्न वितरण गरेका छन् । जस अन्तरगत संचारकर्मी हेमन्त पौडेल , इको टेल रिसोर्टका संचालक डबल शाह , पदम ओझा र हरिष चन्द्र ठाकुरले संयुक्त रुपमा दाल , चामल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेका हुन् ।
भगवान शिवको मन्दिरका कारणले धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा रहेको घोडाघोडी मन्दिरमा सुदुर पश्चिम् प्रदेश तथा कर्णाली प्रदेशका विद्यार्थीहरुले गुरुकुलमा बसेर अध्ययन गरिरहेका छन् ।

