प्रचण्डको खुलासा : नेपालको राजनीतिमा गम्भीर दुर्घटना हुनसक्छ
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीति दुर्घटनातर्फ फस्न सक्ने बताएका छन्। मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिष्ट आन्दोलन र नेपालको राजनीति दुर्घटनातर्फ जानसक्ने बताएका हुन् ।
मे दिवसको सन्दर्भमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो भनेका हुन्। उनले कम्युनिस्ट आन्दोलनमा देखिएको वैचारिक स्खलनले मजदुर आन्दोलनलाई पनि असर गरिरहेको बताएका छन्। अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनमा विचारको खडेरी पर्दै गएको बताए। उनले वैचारिक बहसमा केन्द्रित नभए नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्ने सम्भावना पनि औंल्याएका हुन्।
ट्रेड युनियन आन्दोलन विश्वमा दुई कित्तामा उभिएको उनले बताए। ‘ट्रेड युनियन विश्वभर दुई कित्तामा उभिएको छ’ उनले भने, ‘एउटाले पुँजीवादीको पक्षमा लागेको छ, मजदुरको हकहित गर्ने नाममा घुमाउरो पाराले पुँजीवादीहरुको हकहित गरिरहेको छ। त्यस्तै अर्को पक्ष समाजवादीको पक्षमा छ। ट्रेड युनियनले मजदुरको हित गर्ने हो भने पुँजीवादी पक्षमा लाग्ने होइन, आन्दोलनले समाजवादी कित्ता पक्रिनुपर्छ।’ कार्यक्रममा दाहालले मजदुरहरुलाई पनि समाजवादी कित्ताको पक्षमा उभिएर अघि बढ्न आह्वान गरे।
उनले विश्वमा ठूलाठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा भएको उल्लेख गर्दै नेपालमा पनि समाजवादको आधार निर्माण हुने गरी विचारको बहसलाई अघि बढाउनु पर्नेमा जोड दिए। समाजवादको आधार तयार पार्न त्यही अनुसारको पार्टी संगठन, विचार, कार्यशैली र संरचनाको सुधारमा सबैले जोड दिनुपर्ने उनको सुझाव थियो।