भिम रावल भन्छन्– बालुवाटार जग्गा काण्डमा संलग्नलाई छिटो कारबाही
काठमाडौं । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा आएको र त्यसमा ठूला राजनीतिक नेताको समेत नाम जोडिएपनि सरकारले चाँडो भन्दा चाँडो त्यो प्रकरणलाई सल्टाउने प्रयास गरेको पाइएको छैन । टुँडिखेल खुलामञ्चको जग्गा मिचिएको प्रसंगमा जसरी तत्कालै डोजर लगाएर भत्काउने काम गरियो बालुवाटारको हकमा भने मान्छेको अनुहार हेरेर व्यवहार गर्ने काम भइरहेको सत्तारुढ नेकपा भित्रै चर्चा चलिरहेको छ ।
आइतबार बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा पनि यस विषयमा कुराकानी भएको नेकपा स्रोतले जानकारी दिएको छ ।
बालुवाटार मामिलामा सत्तारुढ नेकपाकै महासचिव विष्णु पौडेल समेत मुछिएका छन् । उनले आफ्नो नवलपरासीको ८ कट्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा लिएको सो प्रकरणमा उनले यही वैशाख ६ गते जारी गरेको दोस्रो वक्तव्यमा उल्लेख छ ।
बालुवाटारस्थित ललिता निवास आसपासको ११३ रोपनी अर्थात १,८०८ आना जग्गा सरकारी स्वामित्वमा ल्याउन अध्ययन, छानबिन र रोक्का गर्ने गरी अहिलेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ । तर सो प्रकरणमा महासचिव पौडेल पीडित भएको सरकारका प्रवक्ताले यसअघि बताएका थिए । सामाजिक सञ्जालहरुमा लामो समयदेखि आफ्नै नेता भएकोले सरकारले उनलाई पीडित देखेको भन्दै आक्रोश पोख्ने काम समेत भइरहेको छ । यसबारेमा सत्तारुढ नेकपाका नेता भीम रावलले भने,‘‘यो मामिलामा संलग्नलाई कारबाही गर्नुपर्छ भनेर मैले यसअघि नै भनेको थिएँ । कुनैपनि सार्वजनिक जग्गा गैरकानुनी हिसाबले व्यक्तिका नाममा लग्न पाइँदैन । चाँडो भन्दा चाँडो सरकारको स्वामित्वमा ल्याउनुपर्छ ।’’
उनले पार्टीका नेताकै त्यसमा संलग्नताका बारेमा पार्टीले बैठक डाकेर तत्कालै सो विषयका सम्बन्धमा निर्णय गर्नुपर्ने बताए ।
अहिले नेकपा भित्रैपनि त्यस्तो प्रकरणमा मुछिएका व्यक्तिलाई पार्टीको महासचिवका रुपमा राखेर थप बदनामी कमाउन नहुने माग पनि भइरहेको पाइएको छ । नेतृत्व पंक्तिले उनलाई जोगाउन खोजेको आरोप पनि सत्तारुढ दलभित्र उठिरहेको छ ।
सो प्रकरणमा विगतमा विभिन्न व्यक्तिले नेतृत्व गरेका सरकारले पनि गल्ति गरेको कुरा सञ्चार माध्यममा आइरहेपनि खासमा के भएको हो भनेर सरकारले वस्तुस्थिति सार्वजनिक गर्न नसक्नुका साथै त्यस मामिलामा संलग्नहरुलाई कारवाही गर्न सकेको पाइएको छैन । रावलले भने,‘‘यो मामिला चाँडो भन्दा चाँडो सम्बोधन गरिनुपर्छ ।’’
प्रधानमन्त्री निवास बालुवाटारको आसपास ललिता निवासको जग्गाको प्रकरणमा केही दिन अघि एक सार्वजनिक कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जग्गाको सबै कित्ताहरु किटान गरेर रोक्का गरेको स्पष्ट पारेकी थिइन् ।