विष्णु पौडेल काण्डले नेकपामा रडाको - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

विष्णु पौडेल काण्डले नेकपामा रडाको



काठमाडौं : सत्तारुढ दल नेकपाको सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ललितानिवास जग्गा प्रकरणमा पार्टी महासचिव विष्णु पौडेल मुछिएको घटनामाथि छानबिन गर्न नेताहरुले माग गरेका छन्।

बैठकमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा ईश्वर पोखरेलले बालुवाटार जग्गा प्रकरणबारे छानबिन गरी यथार्थ बाहिर ल्याउनुपर्ने धारणा राखेका थिए। ‘पार्टी महासचिवलाई मुछेर आक्रमण तीव्र बनाइएको छ। साथमा पार्टीलाई पनि मुछ्ने काम भएको छ, यस विषयमा पार्टी केही बोल्नुपर्छ,’ रक्षामन्त्री तथा नेकपाका नेता पोखरेलले बैठकका क्रममा भने।

बालुवाटार जग्गा प्रकरणमा सबे कागजात संकलन गरे‍र गम्भीर छानबिन गर्न अधिकांश नेताहरुले अध्यक्षद्वयको ध्यान आकृष्ट गरेका थिए।

बैठकले ‘समृद्ध नेपालः सुखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव पनि दिएको छ।

प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक बसेको हो। नीति तथा कार्यक्रम ल्याउँदा मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्ने गरी ल्याउन सरकारलाई सुझाव दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा नेताहरुले मूलतः संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समृद्धि, निर्वाचनमा बेला पार्टीले जारी गरेको घोषणा–पत्र र सरकारले हालसम्म गरेका सकारात्मक कामहरुको उपलब्धिहरुको रक्षा र विस्तार हुने कुरामा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराएका थिए।