रसिद बिना नै रकम अशुली गर्दै घोडाघोडीका सामुदायिक विद्यालय - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

रसिद बिना नै रकम अशुली गर्दै घोडाघोडीका सामुदायिक विद्यालय



विशाल पाण्डेय / सुखड ,कैलाली ।
कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका अधिकांश सामुदायिक विद्यालयहरुले रसिद बिना नै रकम असुली गर्ने गरेको पाइएको छ । नेपाल सरकारले नि.शुल्क शिक्षा भने पनी विद्यालयले विद्यार्थीहरुबाट भर्ना फिस उठाउने गरेको पाइएको हो ।

भर्ना अभियानका क्रममा सरकारले सामुदायिक विद्यालयलाई कुनै पनि प्रकारको शुल्क नलिन भनिएपनि घोडाघोडी नगरपालिकाका प्राय विद्यालयहरुले रकम असुली गर्ने गरेको अभिभावकहरुले बताएका छन् ।

नगरपालिकामा अहिले ५१ सामुदायिक विद्यालयहरु संचालनमा रहेका छन् । तीमध्ये अधिकांश विद्यालयहरुले सहयोग शुल्कका नाममा बिना रसिद अभिभावक ठगिरहेका स्रोतले जनाएको छ । विद्युत , खानेपानी, अतिरिक्त कक्षा संचालन लगायतका नाममा ती विद्यालयहरुले रसिद बिना नै शुल्क उठाइरहेको स्थानीय अभिभावकहरुले गुनासो गरेका छन् । लाखौको रकम रसिद बिना नै शुल्क संकलन गर्दा सरोकारवाला निकाय भने मौन बसेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

नगरपालिकाको वडा नं १ मा रहेको एक विद्यालयले कक्षा १० का प्रत्येक विद्यार्थीहरुसंग सहयोग शुल्कको नाममा रसिद बिना नै ३ हजार लिएको एक अभिभावकले बताएका छन् । सरकारले सामुदायिक विद्यालयमा निशुल्क शिक्षा दिने भनेपछि आफुले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गरेको तर , सामुदायिक विद्यालयले नै एउटा कागजमा सहयोग शुल्क ३ हजार पठाइदिनु भनी लेखेर पठाउदा आफू छक्क परेको उनले बताए ।

यता घोडाघोडी नगरपालिकाका शिक्षा शाखा अधिकृत उमेश राज रेग्मीले भने आफुहरुले सामुदायिक विद्यालयहरुलाई रकम नलिन आग्रह गरेको बताए । रेग्मीले नगरपालिकामा विद्यालयका प्र अ हरुलाई बोलाइ मिटिङ बसेर तथा घोडाघोडी नगरपालिकाबाट नोटिस जारी गरेर समेत भर्ना निशुल्क गर्न आग्रह गरेको बताए । उनले भने , ‘ हामिले सामुदायिक विद्यालयहरुलाई पटक पटक आग्रह गरेका छौं , विद्यालयहरुले नमानेपछि कानुन अनुसार कारबाही गर्छौ ।” विद्यालयहरुले सहयोगको नाममा रसिद बिना नै रकम लिइरहेका छन् नि ? भन्ने प्रश्नमा शिक्षा शाखा अधिकृत रेग्मिले विद्यालयले रकम लिन नपाउने र यदि अभिभावकले सो इच्छाले रकम दिएपनी त्यस्को रसिद दिनुपर्ने बताए ।

त्यस्तै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले आफुहरुलाई गुनासो आएपछी विद्यालयका प्रअ हरुसंग छलफल गरेको बताए । नगरका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई निशुल्क पढाउन भनेको बताउदै नगर प्रमुख चौधरीले सहयोग शुल्कको नाममा रसिद बिना नै रकम लिने काम सरासर गलत भएको बताए । उनले रसिद बिना सहयोग शुल्क लिएको पाइए कानुन अनुसार कारबाही गरिने समेत जानकारी दिए ।

घोडाघोडी नगरपालिकाले गुणस्तरीय शिक्षाको लागि भनेर करोडौं रकम छुट्याएपनि सामुदायिक विद्यालयमा सहयोगको नाममा रकम लिने र नगरपालिकाले शिक्षामा खासै फड्को नमार्नाले लगानी बालुवामा पानी हाले झै पो हुने हो कि भन्ने सरोकारवालाहरुले बताएका छन् । आर्थिक बर्ष २०७५/०७६ मा घोडाघोडी नगरपालिकाले ३ करोड ९५ लाख रकम विनियोजन गरेको थियो ।