पासोमा परेपछि कैलालीको घोडाघोडीमा चितुवा घाइते

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका ३ छाडा सामुदायिक वनमा चितुवा पासोमा परेको छ । आज दिउँसो १२ बजेतिर पासोमा परेको अनुमान गरिएको चितुवाको अझैसम्म उद्धार भएको छैन ।
स्थानीयले चितुवा पासोमा परेको देखेपछि संरक्षणकर्मीलाई खबर गरेका थिए । संरक्षणकर्मीहरु चितुवा रहेको स्थानमा पुगेपनि प्राविधीक टोली नहुँदा चितुवाको उद्धार हुन सकेको छैन । चितुवाको उद्धारको लागि प्राविधिक टोलीलाई खबर गरिएको चरासंरक्षणकर्मी हिरुलाल डगौराले बताए । उनले भने, ‘प्राविधिक टोलीललाई खबर भएको छ उनीहरु आउँदैछन, उनीहरु आएपछि चितुवाको उद्धार हुन्छ ।’
डगौराले चितुवा राति नै पासोमा परेको हुन सक्ने बताए । उनले चितुवा सामान्य घाइते रहेको समेत बताएका छन् । ‘पासोले चितुवाको पछाडीको भागमा केहि चोट लागेको छ उनले भने, उद्धार पछि उसको उपचार हुने छ ।’
चितिवाको उद्धार गरी बर्दिया राष्ट्रीय निकुञ्ज पठाइने उनले जानकारी दिए ।

