रक्षामन्त्री ईश्वर पोखरेलले भने नयाँ बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढ्छ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

रक्षामन्त्री ईश्वर पोखरेलले भने नयाँ बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढ्छ



कञ्चनपुर– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् ।

आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान तथा रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक पाँच हजार रुपैयाँ पुर्याइने जानकारी दिए । ‘ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा समेत गरिएको छु’ उनले भने, ‘सामाजिक सुरक्षाभत्ता सरकारले घटाउँदै छ भनेर गलत प्रचारबाजी गरिएको छ।’

उनले वर्तमान सरकार कानून र विशेष नीति निर्माणमा लागेको बताउँदै चालु वर्षमा समृद्धिको तस्बीर खडा गर्न सरकार लागि परेको धारणा राखे। ‘हिजोका दिनमा सरकार मात्रै फेरिन्थ्यो’, मन्त्री पोखरेलले भने, ‘अहिले प्रणाली फेरिएको छ।’ उनले कृषि, जलस्रोत, उद्योग स्थापना र पर्यटनको विकास नै समृद्धिको मुख्य आधार भएको बताए । ‘जनप्रतिनिधिले जनताको मन बुझेर काम गर्नुपर्छ’, उनले भने, ‘जनताको निगरानीमा रहेर काम गर्नुपर्ने बेला आएको छ।’

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र र दैजी–जोगबुढा सडक निर्माणका विषयमा आफूले पहल गर्ने उनले वचनसमेत दिएका छन् । भू–उपयोग नीति बदल्न आवश्यक रहेको बताउँदै उनले अधिकार स्थानीय तहसम्म आइसकेकाले हरेक विषयमा केन्द्रसित मुख ताक्नुभन्दा पनि अहिले पाएको अधिकार बमोजिम काम गर्न जोड दिए । रासस