सरकारको अधिनायकवाद विरुद्ध नेपाली कांग्रेसको आमसभा - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

सरकारको अधिनायकवाद विरुद्ध नेपाली कांग्रेसको आमसभा



चपुर । नेपाली कांग्रेस रौतहट जिल्लामा सरकारको अधिनायकवादविरुद्ध शनिबार आमसभा गरेको छ ।

रौतहटको क्षेत्र नं. २ मा नेपाली कांग्रेस रौतहटले आमसभाको आयोजना गरेको हो । आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, सांसदद्वय मोहम्मद अफ्ताब आलम, देवप्रसाद तिमल्सिना, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसहितका नेताहरूले सम्बोधन गरेका थिए ।

कांग्रेसका हज्जारौँ कार्यकर्ताले खचाखच भरिएको आमसभालाई सम्बोधन गर्दै नेताहरूले कम्युनिस्ट सरकारको विरोध गरे । उनीहरूले प्रधानमन्त्री खड्गप्रसाद ओलीले देशलाई भड्खालोमा लैजान लागेको भन्दै चिन्ता जनाए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईका जनताले सिचाइँको माग गरिरहेका बेला प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गरेर बेमौसमको बाजा बजाइरहेको बताए ।

उनले भने, ‘तराई मधेसमा जनताले खेत बारीमा सिचाइँ खोजेका छन् । पानीजहाज खोजेका छैनन् । पानीजहाज ल्याउन सबै पानी एकठाउँमा जम्मा गर्नुपर्छ । त्यस्तो भयो भने खेतबारी सख्खा हुन्छन् ।’

वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरूले जनतालाई धोका दिइरहेको बताए । ‘जनताले अपेक्षा गरेको कुनै पनि काम यो सरकारले गर्न सकेन’, उनले भने, ‘अब चुपचाप सहेर बस्न सकिँदैन ।’

पौडेलले सरकारले भ्रष्ट, भूमाफिया, तस्करलगायतलाई संरक्षण गरेर राखेको आरोप लगाए । उनले सरकारी जग्गा कब्जा गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन् ।

महामन्त्री डा.शशांक कोइरालाले सबै शक्ति केन्द्रित गरेर प्रधानमन्त्री शक्तिशाली बन्ने होडमा लागेको बताए । उनले कांग्रेसले फेरि जनताको अधिकारका लागि कम्युनिस्टहरूविरुद्ध लड्ने बेला भएको बताए ।

सांसद मोहम्मद अफ्ताब आलमले जनताको अधिकारका लागि कांग्रेस सधैँ अग्रभागमा रहने बताए । उनले कम्युनिस्टहरूले तराई मधेसको विकास गर्न नसक्ने भन्दै विकासका लागि कांग्रेस नै आउनुपर्ने बताए ।

सांसद देवप्रसाद तिमिल्सिनाले कम्युनिस्ट सरकारको झुठो आश्वासनबाट नेपाली जनता आजित भएको बताए । उनले कांग्रेसको आधार क्षेत्र तराई मधेसबाट कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।

नेपाल तरुण दलका महामन्त्री भुपेन्दजंग शाहीले वर्तमान सरकार हरेक ठाउँमा असफल भएको बताए । उनले सरकारी जग्गा कब्जा गर्नेहरूलाई प्रधानमन्त्री ओलीले संरक्षण गरेर बालुवाटारमा राखेको आरोप लगाए ।

दुई महिना अगाडि रौतहटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि प्रदेश २ स्तरीय आमसभाको आयोजना गरेको थियो । सोही कार्यक्रमलाई काउन्टर दिँदै रौतहट कांग्रेसले भव्य आमसभाको आयोजना गरेको हो ।