बालुवाटारको ४ सय कित्ता जग्गा रोक्का
काठमाडौं । सरकारले बालुवाटारको करिब ४ सय कित्ता जग्गा रोक्का गरेको छ । बालुवाटारमा ललिता निवास लगायतका सार्वजनिक किनबेच तथा अतिक्रम भएको घटना सार्वजनिक भएपछि त्यहाँको कित्ता रोक्का गरिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको कित्ता किटान गरेर रोक्का गरिएको जानकारी गराउनु भएको छ । ‘ललिता निवासको जग्गा ९८ प्रतिशत कित्ता किटान भएको छं’ उहाँले शनिबार आयोजित कार्यक्रममा भन्नुभयो , ‘७ दिनको समय अवधि राखेर कित्ता काट सम्पन्न गर्यौ । किटान भएको कित्ता हिजो मात्रै रोक्का गरेका छौं ।’
मन्त्री अर्यालले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलको छोरा नविनको नाममा रहेको जग्गा रोक्का रहेको उल्लेख गर्नुभयो । अर्यालले सार्वजनिक र गुठीका अतिक्रमण भएका सबै जग्गा फिर्ता गरिने प्रतिवद्धता जनाउनु भयो । ‘सरकारी जग्गा फिर्ता ल्याउनेगरी काम छिट्टै शुरु हुनेछ’ उहाँले भन्नुभयो ।