बादल भन्छन : विप्लवलाई तह लगाएरै छाड्छु
जनकपुरधाम – गृहमन्त्री रामबहादुर थापा (बादलले) मुलुकको राष्ट्रिय अखण्डता र शान्ति सुरक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन् ।
प्रदेश–२ को जनकपुरधाममा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले देश विखण्डनमा लागेका तथा अराजक गतिविधि एवं अपराधमा लागेकालाई नियन्त्रण गरी सरकारले देशको राष्ट्रिय अखण्डता, शान्ति सुरक्षा कायम गरेर राष्ट्रिय एकताका लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका हुन् ।
उनले सिके राउततर्फ इंकित गर्दै मुलुकमा अलग देशको माग लिएर आन्दोलन गर्दै आएकालाई मूलधारमा ल्याउनु ठूलो उपलब्धि भएको बताउँदै राज्य र संविधानविरोधीलाई मूलधारमा ल्याउनु सफलता भएको बताए । उनले नेत्रविक्रम चन्द विप्लवलगायतले राजनीतिक दलको नाममा, हत्या, हिंसा, चन्दा आतंक तथा अपराधलाई बढावा दिएकोले वार्ताको माध्यम र नियन्त्रणको माध्यमबाट तह लगाउनेसमेत बताए । उनले विप्लव समूहलाई वार्ताका लागि आह्वान गरे ।
उनले केही दिनअघि भएको लगानी सम्मेलनले मुलुकमा लगानी प्रवर्द्धनको निम्ति महत्वपूर्ण निर्णयहरु गरेको बताउँदै लगानी सम्मेलनले समृद्धि नेपाल र सुखि नेपाली पूरा हुनेमा महत्पूर्ण भूमिका निर्वाहसमेत गर्ने बताए ।
मन्त्री बादलले छिट्टै नै प्रदेश प्रहरीदेखि जिल्ला प्रहरी कार्यालयसमेत प्रदेश सरकारको मातहतमा जाने स्पष्ट पार्दै प्रदेश प्रहरीसम्बन्धी विधेयक संसदमा प्रस्तुत भइसकेकाले हरेक प्रदेशले आफ्नो सुरक्षा संयन्त्र बनाउन सक्ने बताए ।
मन्त्री बादलले यही १६ गतेदेखि बजेट अधिवेशन सुरुवात हुने भएकोले अबको एक वर्षमा विकासका निम्ति कार्य योजना निर्माण हुने र मुलुकको विकासका आधार निर्माण गर्न नेपाल आर्थिक वृद्धिदर प्रमुख हुने विश्वास व्यक्त गरे ।
मन्त्री बादलले, ‘अन्तर्रा्ष्ट्रिय संघसंस्थाले समेत देशको आर्थिक विकास वृद्धिदर हुने प्रक्षपेण गरेकाले अब देशको विकास आर्थिक वृद्धिदरमा वृद्धि हुने हुन्छ । उनले ७.५ प्रतिशतको आर्थिक वृद्धि दरले वृद्धि हुने बताउँदै अहिले देशको आर्थिक विकास वृद्धि दर ७ प्रतिशतसम्म पुगेको दाबी गरे ।