राष्ट्रपतिको कारण गणतन्त्रकै बदनाम
राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका छन् ।
राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलमा कुर्नुपर्यो ।
राष्ट्रपतिको सम्मानका नाममा उनको सवारी हुँदा सडक र विमानस्थल खाली गराउन थालेपछि गणतन्त्र नै बदनाम बन्न थालेको छ । शासन व्यवस्था फेरिए भने शासनशैली नफेरिएको भन्दै यसको व्यापक आलोचना हुँदै आएको छ । सवारीमा सामन्ती शैली अपनाएको भन्दै सर्वसाधारणले पटक–पटक आलोचना गर्दा पनि सरकारले यसमा सुधारको प्रयास गरेको छैन । यसकारण गणतन्त्रप्रति नै सर्वसाधारणको वितृष्णा बढेको छ ।
बुधबार त्रिभुवन विमानस्थले बिहान १०:३० देखि ११:१० सम्म उडान तथा अवतरण वर्जित गरिएको नोटिस टु एयरमेन (नोटाम) जारी गरेको थियो । तर, त्यस अवधिभित्र समेत राष्ट्रपतिको विमान उडेन, करिब १७ मिनेट ढिला भयो । ४० मिनेटका लागि जारी भएको नोटाममा फेरि २० मिनेट थप गरियो । यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियसम्मका उडान पूरै अवरुद्ध भए ।
एकातिर त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मतका लागि विमानस्थलको सञ्चालन समय २१ घन्टाबाट घटाएर १४ घन्टा बनाइएपछि विमानस्थलमा चाप बढेको छ । त्यसैमाथि राष्ट्रपतिको उडानका लािग एक घन्टा सबै विमान रोकिएपछि बुधबार दिनभरिको उडान प्रभावित भए । त्रिभुवन विमानस्थलमा दैनिक औसत तीन सय उडान हुन्छन् । बुधबार १०:३० पछि करिब ८० वटा अन्तर्राष्ट्रिय र एक सय २० आन्तरिक उडान प्रभावित भएका हुन् ।
सबै विमान उडानमा ढिलाइ
राष्ट्रपतिको उडान–तालिकाका कारण त्रिभुवन विमानस्थलमा बिहान १० बजेपछिका सबै उडान निर्धारित तालिकाभन्दा ढिला भए । अन्तर्राष्ट्रिय उडानतर्फ निर्धारित समयभन्दा १५ मिनेटदेखि एक घन्टाको ढिलाइ भयो भने आन्तरिकतर्फ अढाई घन्टासम्म ढिलाइ भयो । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले नोटाम लागू भइसकेपछिका सबै उडान पछि धकेलिएको बताए । बुधबारका लागि निर्धारित सबै उडान ढिला भए पनि राति १० बजेसम्ममा गराइसकिएको उनले बताए ।
विभिन्न विमानस्थलबाट काठमाडौं आउन खोज्ने र काठमाडौंबाट विभिन्न विमानस्थलमा यात्रा गर्न लागेका हजारौँ यात्रु प्रभावित भए । विराटनगरबाट काठमाडौं आएका यात्रु उदय पौडेलले निर्धारित समयभन्दा तीन घन्टा उडान ढिलो हुँदा धेरै अप्ठ्यारो परेको बताए ।
यसरी जारी हुन्छ नोटाम
भिआइपीको उडानसम्बन्धी नोटाम जारी गर्नुपरे परराष्ट्र मन्त्रालयले त्यसको जानकारी विमानस्थल व्यवस्थापनलाई दिन्छ । सोही आधारमा विमानस्थलले सूचना जारी गर्छ । नोटाम कम्तीमा ३५ मिनेटका लागि जारी गर्नुपर्ने हुन्छ । यस अवधिमा कुनै पनि विमानलाई विमानस्थलमा नआउन भनिन्छ । नोटामको अवधिलाई ध्यान दिएर सोहीअनुसार जहाजहरूले उडान भर्छन् । सामान्यतया तीन–चार दिनअघि नै नोटाम जारी गरेर सम्बन्धित विमानस्थलमा उडान र अवतरण गर्ने विमान कम्पनीलाई पठाउने गरिन्छ । नोटामको समयमा उडान–तालिकामा ढिलाइ हुने भए पनि नउडाउ भनिएको समयमा उडान भर्ने जहाज मात्र आकाशमा होल्डमा पर्ने त्रिभुवन विमानस्थलले जनाएको छ । आन्तरिकतर्फका उडान भने सम्बन्धित विमानस्थलमा नै होल्डमा रहेका थिए ।
यो सामाग्री नयाँ पत्रिकाले तयार पारेको हो