बालुवाटार, खुलामञ्च हुँदै सरकार सिंहदरबार हडप्ने दाउमा : नेता महर
काठमाडौं । काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीसँगको मिलेमतोमा कम्युनिस्ट सरकारले बालुवाटार हुँदै खुलामञ्च अतिक्रमण गरेको नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले आरोप लगाएका छन् । शुक्रबार राजधानीमा ओजित एक कार्यक्रममा बोल्दै नेता महरले खुलामञ्चमा ४४ व्यापारिक सटर बनाइनु र त्यसमा सरकारले कुनै प्रतिक्रिया नजनाउनुले सरकारको संलग्नता रहेको प्रस्ट भएको बताए ।
महानगरले सुविधासम्पन्न काठमाडौं भ्यु टावर निर्माण गर्ने भन्दै बसपार्कलाई २०७३ वैशाखमा दुई वर्षका लागि खुलामञ्चमा सारेको थियो । निर्माण कम्पनि र काठमाडौं महानगरपालिकाबीच भएको सम्झौतामा खुलामञ्चमा निर्माण गरिने अस्थायी बसपार्कमा तीन बस काउन्टर, तीन यात्रु प्रतीक्षालय, एक सार्वजनिक शौचालय र एउटा क्यान्टिन निर्माण गर्ने उल्लेख भएपनि निर्माण कम्पनीले सम्झौताको धज्जी उठाउँदै अहिले ४४ भन्दा धेरै व्यापारिक सटर बनाएर भाडामा लगाएको महरको आरोप छ ।
‘कम्युनिस्ट सरकार जनताको अभिभावक होइन् । यो त भूमाफिया, बलात्कारी, अपराधिको संरक्षणका लागि मात्र बनेको सरकार हो । यस्तो सरकारबाट जनताले के अपेक्षा गर्ने’, नेता महरले भने, ‘सरकारमा रहेको दुई तिहाइको दम्भले सिमा नाघिसक्यो । अब सरकारविरुद्ध जनताले सडकमा उत्रिने बेला भएको छ ।’
कम्पनीले अहिले तीन लाखदेखि १२ लाख रूपैयाँ अग्रिम लिएर प्रति सटर १२ हजार रूपैयाँमा भाडामा लगाएको आफूले सुनेको बताउँदे त्यो कांग्रेसका लागि सह्य नहुने बताए । ‘यो देशमा कानुन छ । कानुन अनुसार सबै चल्नु पर्छ’, नेता महरले भने, ‘तर, सरकारले कानुनको धज्जी उडाएर आफूलाई कानुन भन्दा ठुलो सोचिरहेको छ । यदि यही तरिकाले सरकारले अगाडि बढ्ने सोच बनाएको छ भने दिन गन्ती सुरु गरे हुन्छ ।’
कार्यकर्ता पोस्न कम्युनिस्ट सरकार दाउ परे सिंहदरबार पनि आफ्ना कार्यकर्ताको नाममा हाल्न सक्ने भन्दै नेता महरले जनतालाई चनाखो हुन आग्रह गरे ।