कविता : भ्यागुताको बिहे - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

कविता : भ्यागुताको बिहे



 -डा. विप्लव ढकाल

हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
.
सिमसारमा बजिरहेको होला नौमती बाजा !
शिरमा बाबरी फूलको मुकुट लगाएर
पाल्कीमा चढिसके होलान् दुलाहा राजा !
जलकुम्भी झारको गुन्द्रीमा बसेर
जुहारी खेलिरहेका होलान् आदिवासी चराहरु !
छमछम बजाउँदै भुइँफूलको पाउजु
उडिसके होलान् लोकन्ती भँवरा !
हिलोमा ‘ट्यार्र ! … ट्यार्र !!’ मङ्गल गीत गाउँदै
सङ्गीतका राजकुमारीहरुले
बोकिसके होलान् सगुनको थाली !
हे गाइने किरा !
अँधेरी खोलामा जानु छ मैले, सिमसारतिर जानु छ
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
.
म एउटा बूढो शङ्खे किरा
अहिलेसम्म बाटोमै घस्रिरहेको छु !
मेरो वरिपरि बसेर रोइरहेका छन् धानचरीहरु !
बाटो छेकेर उनीहरु प्रश्न गर्छन् मलाई—
‘हामीले त रोपेका थियौँ कलकलाउँदो धानको बोट
तर आज खेतमा कसरी फल्यो प्लास्टिकको चामल ?
गोठमा भैँसी दुहुन गएकी थिइन् राजमती
तर आज बाल्टीमा कसरी भरियो कोकाकोलाको झोल ?
काउलीको फूलमा बसेको माहुरी पातमाथि झर्छ किन ?
निधारबाट पसिना खस्दा दुबोको मुना मर्छ किन ?’
हे दमाईं किरा !
गैरी खेतमा जानु छ मैले, तालतलैया जानु छ
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
.
बारीभरि लटरम्म फलेका छन् चाउचाउका प्याकेटहरु
जङ्गलमा किन दुश्मनहरु रोइरहेछन् ?
चिम्सा आँखाहरु रोइरहेछन् कतै, चुच्चा नाकहरु रोइरहेछन् !
अङ्गोछा खोलेर रोइरहेछन् कोही, टोपी झिकेर रोइरहेछन् !
उनीहरुको आँसुमा भरिएको छ साइनाइड
उनीहरुको शरीरबाट झरिरहेको छ अजिनोमोतो !
गोजीमा नागरिकता जस्तो सुसाइड नोट बोकेर
सिमाना काटी कहाँ हराए तिनका सन्ततिहरु ?
जलकुम्भीको आहालभित्र— को गर्दै छ भातको राजनीति ?
साइत नबिगार भन्छु— सुन्दै सुन्दैनन् उनीहरु
हे फकिरा !
लेकैको कानेमा जानु छ मैले, औलाको मानेमा जानु छ
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !