प्रधानमन्त्री ओली र श्रीलंकाका प्रधानमन्त्रीबीच फोन वार्ता, घटनाको भर्त्सना
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको श्रृंखलाबद्ध बम विष्फोटको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार अपराह्न श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै बम बिस्फोटनको घटनामा कैयौं निर्दोषहरुको ज्यान गएकोमा दुःख व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले फोन वार्ताका क्रममा आफ्ना समकक्षीमार्फत श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेको सचिवालयले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री ओलीले समवेदना सन्देश पठाउँदै घटनाप्रति निन्दा प्रकट गरेका छन् ।
‘आज बिहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध बम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।’ प्रधानमन्त्री ओलीले सन्देशमा भनिएको छ ।
‘नेपाल आतंकवाद विरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री ओलीले घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।