पौडेललाई व्यङ्ग्य गर्दै गगनले भने धन्न पशुपति किन्न भ्याउनु भएनछ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

पौडेललाई व्यङ्ग्य गर्दै गगनले भने धन्न पशुपति किन्न भ्याउनु भएनछ



बुटवल: नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका छोराका नाममा रहेको बालुवाटारको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउनु पर्ने बताएका छन्।

कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले शनिबार गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले नेकपा महासचिव पौडेलका छोरा नवीनसहित अन्य व्यक्तिका नाममा रहेको सरकारी जग्गा फिर्ता ल्याउनु पर्ने बताएका हुन्।

ललिता निवासको सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा रहेको पाइएपछि सरकारले त्यसबारे अध्ययन गरेर आफ्नो नाममा ल्याउने प्रक्रिया सुरु गरेको बताएको छ। तर, नेकपाकै महासचिव पौडेलका छोराका नाममा ८ आना जग्गा भएको पाइएपछि उनी विवादमा तानिएका छन्।

कार्यक्रममा नेकपा महासचिव पौडेलप्रति थापाले व्यङ्ग्यसमेत गर्न भ्याए। पौडेलको नाम नलिई घुमाउरो शैलीमा थापाले भने,‘म काठमाडौंबाट जितेको सांसद। तपाईंहरूले रुपन्देहीबाट जिताएर पठाउनु भएका मेरा मित्र सांसद काठमाडौंमा जग्गा किन्दा नराम्रोसँग ठगिनुभएछ।’

थापाले बालुवाटारमा जग्गा किन्दा धन्न पशुपति किन्न नभ्याएको भन्दै पौडेलप्रति व्यङ्ग्य गरे। उनले भने,‘बालुवाटारमा ८ आना जग्गा किन्दा किन्दै पशुपति किन्न धन्न भ्याउनुभएनछ। मलाई खुशी लाग्यो।’

उनले काठमाडौंका जनताले जग्गा किन्दा ठगिएकालाई क्षतिपूर्ति दिन नसक्ने भएकाले रुपन्देहीबासीले नै दिनु पर्ने टिप्पणी गरे। थापाले भने,‘नवलपरासीको बर्दघाटको श्रीमतीका नाममा रहेको ८ कट्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा किन्दा उहाँ ठगिनु भएछ। त्यसैले उहाँप्रति मेरो सहानुभूति छ।’