चस्मा किन्दा फ्रेमको रङ यसरी छनोट गर्नुस - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

चस्मा किन्दा फ्रेमको रङ यसरी छनोट गर्नुस



सुजन पन्थी

फेसन डिजाइनर

लाफ डिजाइन स्टुडियो, लाजिम्पाट

पावर भएको होस् या पावर नभएको, आँखाको सुरक्षाका लागि चस्मा अनिवार्य साधनजस्तो बनेको छ । बाहिर निस्किँदा सामना गर्नुपर्ने धुवाँ–धुलो र सूर्यको किरणको असरबाट आँखालाई जोगाउन चस्मा आवश्यक छ । चस्मा लगाउनुलाई फेसनका रूपमा समेत लिइन्छ । स्टाइलिस बन्न विभिन्न मोडेलका चस्मा लगाउने चलन छ ।

साँच्चै आँखाको सुरक्षाबाहेक फेसनका रूपमा पनि प्रयोग गर्नुहुन्छ भने चस्मा किन्दा फ्रेमको रङमा पनि ख्याल पुर्‍याउनु जरुरी हुन्छ । फ्रेमको रङ छनोट गर्दा लगाउने व्यक्तिको स्किन, आँखा र कपालको रङलाई आधार मान्नुपर्छ । फेसन डिजाइनर सुजन पन्थीले टिप्स दिएका छन् :

१.गाढा खैरो रङको कपाल छ भने चस्माको फ्रेम कालो, निलो या गुलाबी रङको रोज्नुहोस् । यी तीनवटै रङ सुहाउँछ ।

२. फिक्का खैरो कपाल छ भने कालो, निलो रङको फ्रेम सुहाउँदैन । यस्तो कपाल भएकाले रातो र प्याजी रङको फ्रेम रोज्नु उपयुक्त हुन्छ ।

३.ब्लन्ड हेयर (सुनौलो रङको कपाल) मा भने हरियो रङको फ्रेम सबैभन्दा उत्कृष्ट देखिन्छ ।

४.कपालको रङ कलरिङ गरेर रातो पार्नुभएको छ भने चस्माको फ्रेम कालो या हरियो रोज्दा सुहाउँछ ।

५.अधिकांश नेपालीको कपाल कालो नै हुन्छ । कालो कपालमा कालो फ्रेमकै चस्मा आकर्षक देखिन्छ । कालोबाहेक निलो र खरानी रङको फ्रेम पनि लगाउन सकिन्छ ।

६.पाको उमेरपछि कपाल फुल्ने गर्छ । आजकाल त कतिपयले युवावस्थामै कपाल रंग्याएर सेतो बनाउने गर्छन् । तपाईंको पनि कपाल सेतो छ भने हल्का निलो या चहकिलो रातो रङको फ्रेम भएको चस्मा सुहाउँछ ।

७.आँखाको रङ खैरो प्रकृतिको छ भने चस्माको फ्रेम पनि खैरो, हरियो या सुनौलो खालको लगाउनु सुहाउँदो हुन्छ ।

८.हरियो फ्लेवरको आँखामा भने खैरो, सुनौलो या गुलाबी रङको फ्रेम भएको चस्मा आकर्षक देखिन्छ ।

९.निलो आँखामा भने निलो रङकै फ्रेमको चस्मा राम्रो देखिन्छ । यस्तो आँखामा खैरो र खरानी रङको फ्रेम पनि सुहाउँछ ।

साभार नया पत्रिका