पार्टीभित्रै विष्णु पौडेललाई निलम्बन गर्नुपर्ने माग
काठमाण्डूको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको बहुचर्चित प्रकरणमा मुछिएका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई निलम्बन गर्नुपर्ने माग उक्त दलकै नेताले गरेका छन्।
नेता भीम रावलले त पनि प्रारम्भिक रूपमा महासचिवबाट गल्ति भएको उनले बुझेको सङ्केत दिएका छन्। तर उनले त्यसबारे थप तथ्यहरू सङ्कलन गरिरहेको जानकारी दिए।
महासचिव पौडेलले सरकारी जग्गा आफ्नो परिवारको सदस्यले किनेको स्वीकार गरेका छन्। तर उनले त्यो जग्गा व्यक्तिबाट किनेको बताएका छन्।
सांसद समेत रहेका केन्द्रीय सदस्यले मेटमणि चौधरीले बीबीसी नेपाली सेवासँग कुरा गर्दै छानबिन सहज बनाउन पौडेल स्वयम्ले पदत्याग गर्नुपर्ने अन्यथा पार्टीले निलम्बन गरेर छानबिन गर्नुपर्ने बताएका हुन्।
छानबिन समिति बनाउनु पर्ने
उनले भने, “उहाँ आफैले राजिनामा दिए छानबिन गर्न पार्टीलाई सहिजो हुन्छ। र नेपाली नेताले उच्च संस्कार र नैतिकता देखाउन सक्छन् भन्ने सन्देश पनि प्रवाह हुन्छ।”
त्यसो गर्न पौडेल तयार नभए उनलाई निलम्बन गर्नु पर्ने उनको धारणा छ।
भन्छन्, “निलम्बन गर्न सकिएन भने पार्टीको मातहतमा नेता रहने कि नेताको मातहतमा पार्टीलाई राख्ने? भन्ने प्रश्न उठ्छ। स्वाभाविक रूपमा लेनिनवादी पार्टी भएकाले नेतालाई पार्टी मातहतमा राख्नै पर्छ।”
दोषी देखिए महासचिवलाई कारवाही गर्नुपर्ने अन्यथा पार्टी जोगाउन नसकिने र जनताको विश्वास पनि जगेर्ना गर्न नसकिने चौधरीको भनाइ छ।
उक्त प्रकरणबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका निकायलाई छानबिन गर्न सरकारले निर्देशन दिएको बताइएको छ।
अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीले पनि सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीमाथि माथि कारवाही हुनुपर्ने उल्लेख गरे।
उनले भने, “नयाँ वर्षको दिन प्रधानमन्त्रीले सरकारी जग्गा कसैले आँखा लगाउन पाउँदैन, सबै फिर्ता हुन्छ, संलग्न कसैले छुट पाउँदै भनेर जे बोल्नु भएको छ। त्यसमा हाम्रो साथ-समर्थन र सहयोग हुन्छ।”
सांसद चौधरीले पनि पार्टीले नै छानबिन समिति बनाउनु पर्ने बताए।
गल्ती भए कारवाही
एउटा सरकारी छानबिन समितिले प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवास रहेको सरकारी जग्गा समेत व्यक्तिको नाममा नामसारी भएको प्रतिवेदन दिएको छ।
जसमा सरकारी जग्गा विभिन्न व्यक्तिहरूले एकपछि अर्को गर्दै बेचेको प्रतिवेदनलाई उद्धृत गर्दै नागरिक दैनिक लगायतका विभिन्न सञ्चारमाध्यमले लगातार समाचार प्रकाशित गर्दै आएका छन्।
चौतर्फी चर्चा पाएको उक्त प्रकरणमा महासचिव नै मुछिएको विषयमा नेकपाका वरिष्ठ नेताले कुनै प्रतिक्रिया जनाएका छैनन्।
तर बीबीसीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवम् नेता झलनाथ खनाल र अर्का नेता भीम रावलले दोषी भए महासचिवमाथि पनि कारवाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
छानबिन टुङ्गो नलाग्दासम्म पौडेललाई जिम्मेवारी मुक्त गर्नुपर्ने खाँचो देख्नुहुन्छ? भन्ने प्रश्नमा खनालले भने, “त्यसबारे व्यक्तिगत सोच बेग्लै कुरा होला, यो सामूहिक रूपले बनाउने सोंच हो। पार्टी कमिटीमा पहिला विषय आओस्। कुनै पनि प्रकारका गल्ती कमजोरी भएका छन् भने कसैलाई पनि न राज्यले न पार्टीले कसै पनि छोड्नु हुँदैन।”
नेता भीम रावलले महासचिव मुछिएको विषयमा तथ्यहरू सङ्कलन गर्दै अध्ययन गरिरहेको जानकारी दिए।
रावलको प्रारम्भिक बुझाइ, पौडेलबाट गल्ति
तर उनले ‘सरकारी जग्गा व्यक्तिले आफ्नो नाममा लिएको भए त्यो फिर्ता लिने मात्र नभइ अनियमित रूपमा आफ्नो नाममा जग्गा लिनेलाई कारवाही गर्नु पर्ने’ आफ्नो धारणा रहेको बताए।
महासचिव पौडेलले आफूले किनेको स्वीकार गरेकाले त्यसो भए उनले गल्ती गरेको तपाईँको प्रारम्भिक बुझाइ हो? रावलले जवाफ दिए, “सरकारी जग्गा गलत किसिमले गएको कुरा त मैले भनिरहनुनै पर्दैन सबैले भनेका छन्।”
तर पौडेललाई अहिले जिम्मेवारीबाट अलग गरिनु पर्ने विषयमा भने उनले त्यो कुरा व्यक्तिले जिम्मेवारी बोध गर्ने कुरा भएको बताए।
त्यसबारे पार्टी बैठकमा छलफल भएर तथ्यहरूका आधारमा निर्णय लिने उनको विश्वास छ।
पौडेलले भने समाचार प्रकाशमा आएपछि विज्ञप्ति जारी गर्दै व्यक्तिबाट प्रक्रिया पूरा गरेर आफ्नो परिवारको सदस्यको नाममा जग्गा किनेको जनाएका छन्।
उनीसँग थप प्रतिक्रिया लिने हाम्रो प्रयास सफल हुन सकेन। बीबीसी