ओली, दाहाल र नेपालबीच विवाद : नेकपामा खतराको सङ्केत

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी समायोजनको विषयमा ८० प्रतिशत सहमति जुटाएका छन् ।
नेकपाका केही शीर्ष नेताहरू रुष्ट भएपनि ओली–दाहालले पेलेरै जाने तयारी गरेका छन् । एकता टुंगो लगाउन ओली–दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भएपनि सहमति जुट्न नसकेको उच्च स्रोतले जनाएको छ ।
छलफलमा ओली–दाहाललाई नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्नेमा सुझाव दिएका थिए । ओली–दाहाल वैशाख पहिलो सातासम्ममा सहमति गर्ने, नभए पेलेरै भएपनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ ।
नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीच विवाद छ ।
केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।
एघार महिना अगाडि जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । घोषणा सभालाई सम्बोधन गर्दै ओली, दाहाल, नेपालसहितका शीर्ष नेताले तीन महिनाभित्र एकता टुंगो लगाउने बताएका थिए ।
नेताहरूले वैशाख ९ गतेभित्रमा नेकपाको एकता टुंगो लाग्ने बताइएको छ ।
ओली–दाहालले भए सहमतिमै, नभए पेलेरै भएपनि नेतृत्वको घोषणा गर्ने तयारी गरेपछि नेता नेपालको समूहले विधि, प्रक्रिया, मापदण्ड, वरीयता एवं क्रियाशीलतालाई ध्यान दिनुपर्ने सुझाव दिँदै आएको छ ।
समझदारीअनुसार तत्कालीन एमालेले करिब ४५ र माओवादी केन्द्रले ३२ जिल्लाको नेतृत्व लिने तयारी गरेको छ ।

