प्रधानमन्त्री, बहिष्कार र लक्षिण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीलाई गन्दैनन् । दुई तिहाईको समर्थनको बलमा बनेको सरकारमा विपक्षी भन्ने नहुने उनको तर्क रहँदै आएको छ । त्यसैले त उनले विरोधी कुरा सुन्न चाहँदैनन् ।
त्यही दम्भकै कारण उनले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई भन्न हुने नहुने सबै भन्दै आएका छन् ।
‘निच’ देखाउने उनको बानीले गर्दा विपक्षी त आक्रामक भएकै छन् उनकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि शान्तिपूर्ण वातावरण हुन सकेको छैन ।
विपक्षीलाई दबाउन कुनै समय नेता तथा कार्यकर्तालाई अरिंगाल जस्तै खनिन निर्देशन दिएका ओलीको त्यो निर्देशन नेकपाका नेता कार्यकर्ताले पानीमा मिल्काइदिए ।
पछिल्लो समय काँग्रेस कार्यकर्ताहरुको आन्दोलनलाई नन्दीभिरिङ्गीको संज्ञा दिएका छन् । आफ्नो सरकारको विरुद्धमा आन्दोलन गरेर देखाउन पनि उनले चुनौती दिएका छन् ।
मन्त्रीहरु किन गन्दैनन ओलीलाई ?
तर प्रधानमन्त्री ओलीले आफ्नै नेता तथा कार्यकर्ता र मन्त्रीहरुले समेत आफूलाई वास्ता गर्न छाडेको उनले देख्न सकिरहेका छैनन् ।
त्यस्तै भएको थियो वैशाख १ गते । नयाँ वर्ष २०७६ को शुभकामनासहित ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित भएनन् ।
पूर्व तयारी बिना नै प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि गृहमन्त्री रामबहादुर थापा बादल नै उपस्थित भइदिएनन् ।
को कसले गरे बहिस्कार ?
उपस्थित नहुनेमा तत्कालीन माओवादीबाट समेटिएका मन्त्रीहरु थिए । बादलसंगै ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल ‘बलदेव’ र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा भएका थिएनन् ।
ढिला गरी सम्वोधन कार्यक्रममा पुगेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो खेमाका मन्त्रीहरु नदेखेपछि अलमलमा परेका थिए ।
सामान्यतया प्रधानमन्त्रीले देशवासीका नाममा गरिने सम्बोधन मन्त्रिपरिषद बैठकमा छलफल हुने गर्छ । यसपटकको सम्बोधन बिना छलफल आएका कारण उनीहरूले मौन बहिष्कार गरेको बुझिन्छ ।
केही मन्त्रीहरु काठमाडौंमै थिए भने केही काठमाडौं बाहिर । तर यसलाई प्रधानमन्त्री ओलीले कसरी बुझेका होलान् ?
यसै पनि पार्टी एकता पूर्ण रुपले नहुँदा नेता कार्यकर्ताले असहज महसुस गरेका छन् । पार्टी एकता घोषणाको ११ महिना पूरा भए पनि एकता टाढिएको पो हो कि !