यी हुन् दानी पाण्डे जसले करिब दुई करोड रुपैयाँ बराबरको सम्पति आश्रमलाई दिए

तनहुँ । पवित्र तीर्थस्थल देवघाट धाममा एक जना व्यक्तिले करिब दुई करोड रुपैयाँ बराबरको सम्पति महेश सन्याश आश्रमलाई दान गरेका छन् । देवघाट गाउँपालिका वडा नम्बर ५ मा बस्दै आएका चित्रराज पाण्डे र जीवनकुमारी पाण्डेले आफ्नो एक रोपनी जग्गासहित सन्तोषेश्वर शिव मन्दिर र दुई तले पक्की घर आश्रमलाई दान गरेका हुन् ।
स्वर्गीय छोरा बुहारीको सम्झनामा निर्माण गरिएको मन्दिर र घर जिल्ला प्रशासन कार्यालय तनहुँमा कागज गरेर आश्रमलाई प्रदान गरेको चित्रराज पाण्डेले बताउनुभयो । आश्रमले महेश संस्कृत गुरुकूल सञ्चालन गरेर निशुल्क रुपमा संस्कृत शिक्षा पढाउँदै आएकाले आफ्नो सबै सम्पत्ति आश्रमलाई दान गरेको पाण्डेले बताउनुभयो ।
पाण्डे दम्पति जीवित रहुन्जेल सोही घरमा बस्ने तथा उनीहरुको मृत्युपछि सबै सम्पत्ति स्वत आश्रमको नाममा हुने गरी कागज बनाएको पाण्डेले बताउनुभयो । पाण्डे दम्पतिले आश्रम तथा गुरुकूलको रजत महोत्सव समापनको अवसर पारेर आज दुई करोड बराबरको सम्पत्ति दान गर्नुभएको हो । महेश संस्कृत गुरुकूलमा निशुल्क आवासीय सुविधासहित कक्षा ६ देखि आचार्य (स्नातकोत्तर)सम्म संस्कृत शिक्षा पढाई हुने गरेको छ ।

