सिद्धुले गरे प्रधानमन्त्री मोदी सरकारको कडा आलोचना - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सिद्धुले गरे प्रधानमन्त्री मोदी सरकारको कडा आलोचना



नयाँ दिल्ली– भारतको पञ्जाब राज्य सरकारका मन्त्री नवजोत सिंह सिद्धुले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् ।

उनले पहिले उग्रवादीहरूको हमलालाई लिएर मन्त्रीहरूको राजीनामा आउने गरेकोमा अहिले त्यस्ता हमलालाई लिएर भोट माग्ने गरिएको बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै सिद्धुले भने, ‘पहिला–पहिला आतङ्कवादी हमला हुँदा राजीनामा आउँथे । मुम्बई आक्रमणपछि शिवराज पाटिल र विलासराव देशमुखले राजीनामा दिए । तर अहिले हमलालाई लिएर भोट पो माग्ने चलन शुरू भएछ ।’

उनले भने, ‘तपाईँको मोदीको कार्यकालमा १७ सय हमला भएका छन् । सन् २०१० मा आठ जवान शहीद भए भने अहिले ६१ जना शहीद भएका छन् ।’

सन् २००४ र सन् २००९ को पञ्जाब प्रान्तीय निर्वाचनमा मोदीको भारतीय जनता पार्टीको तर्फबाट जितेका सिद्धुले सन् २०१७ मा भने पार्टी परिवर्तन गरि कँग्रेस आईबाट जितेका थिए ।

मोदीलाई सम्बोधन गर्दै सिद्धुले भने, ‘तपाईँले त्यसलाई रोक्न के गर्नुभयो, के जवानहरूको लश्करसम्म २५० किलोग्राम विस्फोटक पदार्थ पुग्नु भनेको गुप्तचर निकायको विफलता होइन र ?’

सिद्धुले मोदी सरकारको योजनाको पनि आलोचना गर्दै उनले भने, ‘यो देशमा कतिपय मान्छे भोको पेट बस्छन् तर योग गर्न लगाइन्छ । गोजी खाली हुन्छ तर खाता खोल्न लगाइन्छ ।’

उनले भने, ‘कतिपयले खाना खान पाइरहेका हुँदैनन् तर शौचालय बनाइन्छ । गाउँमा बिजुली हुँदैन तर डिजिटल इन्डिया बनाइँदैन । कम्पनी विदेशी हुन्छन् तर मेक इन इन्डिया भनिन्छ ।’

जनताले साथ दिए पनि उनीहरूका लागि विकास हुन नसकेको सिद्धुको भनाइ छ । विकासका नाममा अडानी र अम्बानीको मात्रै विकास भएको उनको आरोप छ ।

उनले भने, ‘अम्बानी समूहलाई सरकारले सिमेन्ट उद्योगका लागि ४० करोडमा १२४० एकड जग्गा दियो । सिमेन्ट उद्योग त स्थापना भएन तर उनले ४८०० करोडको जमिन चाहिँ बेचे ।’

फ्रान्ससँगको लडाकु विमान सम्झौतालाई लिएर पनि सिद्धुले मोदी नेतृत्वको सरकारको आलोचना गरेका छ ।

उनले भने, ‘सर्वोच्च अदालत गएरै कुनै सरकारले झूटो बोलेको यो पहिलो पटक हो ।’

दालमा कालो
नीरव मोदी र ललित मोदी देशबाट भाग्दा सरकार कहाँ थियो र कुन चौकीदारले चौकीदारी गरिरहेको थियो भन्दै सिद्धुले सरकारलाई प्रश्न गरेका छन् ।

सन् २०१६ को नोटबन्दीले कालोधनलाई छुन नसकेको पनि उनको दाबी छ । सिद्धुले भने, ‘तपाईँले देशको लोकतन्त्रलाई गुण्डातन्त्र, भयतन्त्र र ट्रोलतन्त्र बनाइदिनुभयो ।’

लोकतान्त्रिक संस्थाहरूलाई पनि वर्तमान सरकारले खत्तम बनाइदिएको उनको आरोप छ । सरकारले केन्द्रीय अनुसन्धान निकायलाई रबर स्टाम्प र न्यायपालिकालाई चौबाटोमा उभ्याइदिएको पनि सिद्धुको आरोप छ ।

सिद्धुले भने,‘देशको इतिहासमा पहिलो पटक चारजना न्यायाधीश जनताबीच आएर भन्नुपर्‍यो कि दालमा कालो होइन पूरै दाल नै कालो छ ।’