सबै विद्यालयमा एउटै ड्रेस अनिवार्य - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सबै विद्यालयमा एउटै ड्रेस अनिवार्य



सबै विद्यालयमा एउटै पोसाक भन्ने सुन्दा अचम्म लाग्ला तर, विद्यार्थीबीच बढेको असमानता मध्यनजर गरेर मकवानपुरको मनहरी गाउँपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने बेला गाउँपालिकाले यस्तो निर्णय लिएको हो । मनहरी गाउँपालिकाका ३२ वटा स्कुलमा करिब ६ हजार विद्यार्थी एउटै पोसाकमा विद्यालय जानेछन् ।

‘मनहरी गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएका छौं,’ मनहरी गाउँपालिका उपप्रमुख मनिला विष्टले भनिन् ।

गाउँशिक्षा समिति मनहरीले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन यस्तो निर्णय गरेको हो । निर्णयअनुसार पोसाकअन्तर्गत अकासे रङको सर्ट, गाढा नीलो रङको पाइन्ट, टाई र जुत्ता रहने उल्लेख छ ।

त्यस्तै, वर्षा याममा भने कतिपय विद्यालयमा टाई र जुत्ता अनिवार्य नहुने समितिले निर्णय गरेको छ ।

‘पोसाक देखेर मनहरी गाउँपालिकाका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ मनहरी गाउँपालिका उपप्रमुख विष्टले भनिन् ।

गाउँशिक्षा समितिले शैक्षिक वर्ष २०७६ का लागि शैक्षिक पात्रोसमेत निर्माण गरेको छ । पात्रोमा दसैं, तिहार र छठ पर्वलाई जोडेर दिइँदै आएको लामो बिदा कटौती भएको छ । दसैं र तिहारबीचमा १३ दिन विद्यालय सञ्चालन हुने गरी शैक्षिक पात्रो निर्माण भएको गाउँशिक्षा प्रमुख राजेन्द्र चौलागाईंले बताए ।

गाउँपालिकामा रहेका संस्थागत विद्यायको पोसाकमा पनि एकरूपता कायम गर्न निजी तथा आवासीय विद्यालय (प्याब्सन)सँग सहकार्य गरिने चौलागाईंले बताए ।

पोसाकबाट सुरु भएको समानता विस्तारै गुणस्तरसम्म पुर्याउन बाटो खुला गरिएको चौलागाईंले बताए ।