बाँस्कोटाले भने : सरकार सफल भएको देखेर कांग्रेस अत्तालियो - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

बाँस्कोटाले भने : सरकार सफल भएको देखेर कांग्रेस अत्तालियो



लहान, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताएका छन् । उनले सरकारको लोकप्रिय काम देखेर केही शक्ति भने अत्तालिएको टिप्पणी गरे । उनले नेपाली कांग्रेस र तराई मधेश केन्द्रित दलहरुलाई लक्षित गर्दै सरकारको कामबाट आत्तिएको टिप्पणी गरे ।

‘मुलुकको समग्र विकास र समृद्धिका लागि सरकारले जग बलियो बनाउन लागेको छ, जग बलियो भएपछि माथि जस्ता (छानो) हाल्ने काम हुँदै गर्छ’, लहानमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने, ‘कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको काम तीव्ररूपमा सरकारले अघि बढाएकाले अबको पाँच वर्षभित्र मुलुकमा ठूलो आर्थिक रुपान्तरण हुन्छ ।’

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सङ्घीयता कार्यान्वयन र कानून निर्माणमा वर्तमान सरकार सफल भएको बताउँदै मुलुक समृद्ध बनाउने सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरु अहिले अत्तालिएको धारणा व्यक्त गरे ।

‘ती शक्तिलाई एक त हाम्रो दुईतिहाइ भएको पचेको छैन भने अर्कोतिर सरकारले गरिरहेको राम्रो काम मन पराएको छैन, त्यसैले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सरकारको आलोचना गरिरहेका छन्’, सरकारप्रति बढेको आलोचनाको कटाक्ष गर्दै मन्त्री बाँस्कोटाले भने ।

‘त्यस्ता आलोचनाप्रति सरकारले ध्यान दिएको छैन्, सरकारको ध्यान केबल अहिले विकास र समृद्धिमा केन्द्रीत रहेको छ’, मन्त्री बाँस्कोटाले भने, ‘सरकार र आफ्नो पार्टीले सामाजिक रुपान्तरण र समृद्धिको योजना अघि सारेर त्यसै अनुरुप कामकारवाही अगाडि बढाएको छ ।’

उनले कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गराएर अघि बढ्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै वैज्ञानिक, पारदर्शी र वस्तुनिष्ट तरिकाबाट नागरिकता वितरण गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको बर्ताए ।

कृषि र पर्यटनको विकासले मात्र समृद्ध नेपाल र सुखी नेपालीको सरकारी नारा सार्थक हुने भएकाले कृषि क्षेत्रमा देखिएको परनिर्भरता अन्त्य गर्नुपर्ने बताउँदै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने गरी सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गरे । रासस