‘कर्मचारीहरुप्रति व्यङ्ग्य : ‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’ - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

‘कर्मचारीहरुप्रति व्यङ्ग्य : ‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’



भक्तपुर – ‘के भनौँ र खै तिमी हाँस है, मै बसौँला रोई’, भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुग्नुभएकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गगरिन् ।

नापी कार्यालय भक्तपुरले सञ्चालनमा ल्याएको असहाय तथा ज्येष्ठ नागरिक र स्तनपान कक्षको सेवाको उद्घाटन गर्दै उनले मालपोत, नापी र भूमि सुधार कार्यालयमा हुने व्यापक भ्रष्टाचारले गीतमा भने जस्तै अवस्था आएको बताइन् ।

मन्त्री अर्यालले भनिन्, ‘जताततै मालपोत, नापी र भूमिसुधार कार्यालय भ्रष्टको अखडा भएको चर्चा चलिरहँदा आफ्नो शिर निहुरिएको छ, मान्छे मरेर जाँदा कात्रोमा खल्ती हुँदैन, जीवन जिउन साह्रै निकृष्ट हुनु पर्दैन ।’

पहिलो नम्बरमा सुशासन कायम गर्ने उद्देश्य लिएर मन्त्रालय अगाडि बढेको उल्लेख गर्दै उनले केही रुपमा भएका कमजोरीमाथि क्लिन भए पनि तलबाट गिज्याउने काम भइरहेको बताए । मन्त्री अर्यालले मालपोत, नापीमा भइरहेका बदमासी मन्त्रालयले प्रक्रियाबाटै अन्त्य गर्न लागिपरेको बताउँदै कर्मचारीलाई गाली गरेर मात्र होइन, पूर्णरुपमा सिस्टमबाट नै डिजिटल प्रविधिमा सबै सेवालाई ढाल्न लागिपरेको धारणा व्यक्त गरे ।

डिजिटल सेवाको शुरुआत कलङ्कीबाट नमूना कार्यालय बनाउन शुरु गरिएको भन्दै उहाँले यसबाट राजश्वमा हुने चुहावट बन्द हुने, सुशासन कायम हुने र जनताले सहजरूपमा सेवा प्राप्त हुने बताए । मन्त्री अर्यालले अबको एक वर्षमा देशैभरका मालपोत र नापी कार्यालयलाई पूर्ण रुपमा प्रविधिमैत्री बनाउने बताउँदै डेढ वर्षमा स्थानीय तहलाई हस्तान्तरण गर्दा प्रविधिसहितको सेवा हस्तान्तरण गरिने भने ।

मालपोत, नापी, भूमिसुधारलाई बिचौलियामुक्त कार्यालय बनाउन लागेको बताउँदै उनले सेवाग्राहीबाहेक अन्य व्यक्तिलाई कार्यालय हाताभित्र प्रवेश निषेध गरेर सेवाग्राहीमुखी सेवा दिन मन्त्रालय लागेको जानकारी दिए ।

नापी कार्यालय भक्तपुरका प्रमुख ज्ञानेन्द्रकुमार विष्टले अनाधिकृत व्यक्तिको प्रवेश रोक्न डोरलक सिस्टम अपनाइएको, डिजिटल रुपमा सेवा दिइएको, दोहोरो स्क्रिन डिस्प्लेमार्फत कम्प्युटर सेवा दिइएको, टोकन प्रणालीमार्फत सेवा दिइएको जानकारी दिए ।

मालपोत कार्यालय भक्तपुरका प्रमुख ध्रुवप्रसाद कोइरालाले कार्यालयमा भइरहेको सेवा तथा समस्याका बारेमा मन्त्री अर्याललाई जानकारी गराए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, भक्तपुरका प्रजिअ नारायण भट्ट लगायतले सेवाग्राहीलाई सहज सेवा दिनुपर्नेमा जोड दिए ।रासस