मोहन वैद्यले ओलीलाई भने : जुन गोरूको सिङ छैन उसकै नाम तिखे ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मोहन वैद्यले ओलीलाई भने : जुन गोरूको सिङ छैन उसकै नाम तिखे ?



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य (किरण)ले मुलुकको स्थिति धेरै गम्भीर रहेको बताएका छन्। मुलुक जटिलतातिर गएको भन्दै उनले संविधान बनेपनि धोकेबाजहरुले धेरैलाई धोका दिएको आरोप लगाए।

सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै किरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखानबाटै प्रश्न गरे : जुन गोरुको सिङ छैन उसको नाम तिखे?

‘जो कम्युनिस्ट होइनन्। तर, कम्युनिस्ट भन्छन्,’ उनले प्रधानमन्त्री ओलीतिर इंगित गर्दै भने, ‘यिनीहरु फाँसीवाद दलाल हुन्। उखान टुक्केबाज हुन्।’

किरणले मधेशी आन्दोलन जिउँदै रहेको र थरुहट आन्दोलन बाँकी नै रहेको बताए। उनले आदिवासीको माग ज्यूँकात्यूँ रहेकाले जनवादी क्रान्ति बाँकी नै रहेको बताए।

सरकारले प्रतिवन्धित घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दको पार्टीलाई उनले राजनीतिक पार्टी भएको दाबी गरे। ‘विप्लव राजनीतिक पार्टीको हो। जनआन्दोलनको बीऊ यहीँ छ,’ उनले भने।

उनले वर्तमान सरकारका कारण कांग्रेस, कम्युनिस्ट र मधेशका दल एकै ठाउँमा भएको बताए।