विप्लवले भने : सरकारले गल्ति नसच्याए जे पनि हुनसक्छ - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

विप्लवले भने : सरकारले गल्ति नसच्याए जे पनि हुनसक्छ



नेक्रवित्रम चन्द विप्लव नेतृत्वको नेकपा आफ्ना नेता–कार्यकर्ताको रिहाइ र पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म सरकारसँग वार्ता नगर्ने मनस्थितिमा देखिएको छ ।

प्रतिबन्ध लगाएदेखि ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परिसकेको भन्दै उसले वार्तामा बस्ने कुनै सम्भावना नभएको एक पोलिटब्युरो सदस्यले जानकारी दिए ।

चैतभित्र कार्यकर्ताको रिहाइ र प्रतिबन्ध हटाउनुपर्ने उक्त पार्टीको माग रहेको खबर आजको कान्तिपुरमा दीपेन्द्र विष्टले लेखेका छन्।

‘महासचिवज्यूले विज्ञप्ति जारी गरेर स्पष्ट पारिसक्नुभएको छ,’ ती सदस्यले भने, ‘पार्टीको अन्तिम लाइन त्यही हो, नेता–कार्यकर्ता पक्रेर वार्तामा आऊ भन्नु कत्तिको जायज हो, सत्तापक्ष आफैंले थाहा पाउने कुरा हो, प्रधानमन्त्रीले वार्तामा ल्याउन यस्तो गरिएको भन्नुभएको छ, जे मन लाग्छ गरे हुन्छ।’

शान्तिपूर्ण आन्दोलनमा रहेको पार्टीलाई जबर्जस्ती प्रतिबन्ध लगाउन खोजिएको उनले आरोप लगाए।

महासचिव चन्दले चैत ११ मा विज्ञप्ति जारी गर्दै चैत अन्तिमसम्ममा प्रतिबन्ध नहटाए वा शान्तिपूर्ण आन्दोलन गर्न नदिए आमहडतालमा उत्रिने चेतावनी दिएका थिए ।

‘सरकार यही तरिकाले अघि बढे पार्टीले नयाँ रणनीति तय गर्छ, त्यो विज्ञप्तिमा हामीले स्पष्ट पारिसकेको छौं,’ उनले भने, ‘यो सब सरकारको रबैयामा भर पर्छ, जनताले दुःख पाउँछन् भन्नेमा हामी पनि सचेत छौं तर वार्ताको हल्ला दिएर हामीलाई सिध्याउँछौं भन्नु भ्रम हो।’

केही दिनमै पार्टीको नयाँ रणनीति सार्वजनिक गरिने उनले बताए । नेता तथा कार्यकर्ता पक्रेर जेल भर्छु भनेर सरकारले भूल गरिराखेको उनको आरोप छ।

न्यायालयसमेत प्रभावमा पारेर बन्दीप्रत्यक्षीकरण मुद्दालाई लम्ब्याउने काम भइराखेको ती सदस्यले आरोप लगाए ।

उनले भने, ‘रिहाइ भएका कार्यकर्तामाथि पनि एकपछि अर्को मुद्दा लगाउँदै अदालतको परिसरबाटै पक्रेर जेल हाल्ने अनि वार्तामा आऊ भनेर हल्ला गर्ने रु यो कदापि स्वीकार हुँदैन।’

वार्ताको ‘नौटंकी’ रचेर आफूहरूलाई कमजोर बनाउन खोजेको उनले आरोप लगाए । सरकार पक्षबाट औपचारिक रूपमा वार्ता लागि कुनै पनि प्रस्ताव नआएको उनले बताए राजनीतिक दलसँग राजनीतिक व्यवहार गरेर मात्र समस्या समाधान हुने उनको भनाइ छ।

आइतबार महासचिव चन्दले पुनः विज्ञप्ति जारी गर्दै बन्द, कोणसभाजस्ता थप संघर्षका कार्यक्रम घोषणा गरेका छन्।

‘वैशाख ६ गतेदेखि प्रधानमन्त्री केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रममा बन्दको आयोजना गरी सामाजिक दलालहरूलाई प्रतिबन्धित गर्नेछ’ विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो पटक रौतहटको गौरमा बसेको पार्टीको स्थायी कमिटी बैठकले केही रणनीति परिवर्तन गरेको छ। तर, ती रणनीति गोप्य राखिएका छन् ।