विप्लवका कार्यकर्तालाई रिहा गर्न अदालतको आदेश - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

विप्लवका कार्यकर्तालाई रिहा गर्न अदालतको आदेश



काठमाडौं-काठमाडौं जिल्ला अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक कार्यकर्तालाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले लोकप्रसाद गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न अस्वीकार गर्दै सामान्य तारेखमा छोड्न भनेको हो।

विप्लवका केन्द्रीय नेता हेमन्तप्रकाश ओली सुदर्शनलगायत अन्य कार्यकताको बन्दीप्रत्यक्षीकरण मुद्दा सर्वोच्चमा चलिरहँदा जिल्ला अदालत काठमाडौंले बिना धरौटी रिहा गर्न आदेश गरेको हो।

दुई दिनदेखि ओलीको मुद्दा सर्वोच्चमा हेर्न नभ्याउने हुँदै सर्दै आएको छ। आज पनि उक्त मुद्दा इजलासले हेर्न नभ्याउने भएपछि अर्को दिनका लागि सरेको छ।

पूर्व नेपाल कम्युनिस्ट पार्टी माओवादीको तत्कालीन कार्यकर्ता भएको तर हाल ‍निस्क्रिय भई सामान्य व्यवसाय गरेर बसेका जिकीर अदालत समक्ष पेस भएको भन्दै जिल्ला अदालतले थुनामा पठाउन अस्वीकार गरेको हो।

उनी पूर्व नेपाल कम्युनिस्ट माओवादीका तत्कालीन कार्यकर्ता भएतापनि हाल कुनैपनि राजनीतिक पार्टीमा सङ्लग्न नभई आफ्नो सामान्य व्यवसाय गर्दै आएको जिकीर इजालासमा पेस भएको थियो।

‘कुनैपनि राजनीतिक दलमा आवद्ध हुनु नागरिकको संवैधानिक अधिकार हो। त्यसमा पनि मेरा पक्ष कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको भनी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा समेत निवेदन दिएको अवस्थामा पक्राउ गर्नु न्यायसङ्गत हुदैन ’ जिल्लाको आदेशमा भनिएको छ, ‘स्वतन्त्र न्यायालय भनेको नागरिकको अविभावक हो, यसले नागरिकको संवैधानिक र मौलिक अधिकार संरक्षण गर्नुपर्ने हुन्छ।’

अदालतमा पूर्व माओवादी कार्यकर्ता भएको र हाल ढुङ्गा गिटी सप्लाई गरी आफ्नो व्यवसाय सञ्चालन गरी बसेकाले कुनै अपराधिक गतिविधिमा संलग्न नभएको बहश गरेपछि जिल्ला अदालतले यस्तो आदेश गरेको हो।