नेताहरुले अर्बौं भ्रष्टाचार गरेको डा. भट्टराईको खुलासा - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

नेताहरुले अर्बौं भ्रष्टाचार गरेको डा. भट्टराईको खुलासा



भैरहवा । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले केही नेताहरुको रातारात भएको वर्गउत्थानप्रति प्रश्न उठाएका छन् । उनले छोटो अवधिमै केही नेताहरु रातारात अर्बपति भएको आरोप लगाए ।

पार्टीको सिद्धार्थनगर कमिटीले शनिबार भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा. भट्टराईले राजनीतिमा लाग्नेबेला जनतासँग मागेर खाने, लत्ताकपडा लगाउने नेताहरु दश पन्ध्र वर्षको अवधिमा चिल्लो कारमा हिँड्ने, ठूला महलमा बस्ने र सामान्य हाछ्यू आए पनि सिंगापुर, अमेरिका लगायतका देशमा उपचार गर्न जाने हैसियतमा पुगेको बताएका हुन् ।

आफ्ना पूर्वसहकर्मीहरुप्रति संकेत गरे पनि उनले यो आरोपसँग कसैको नाम जोडेनन् । उनले आम्दानी नै नभएका नेता एकाएक अर्बपति हुनुलाई गडबडीसँग जोडे ।

उनले पैसा कमाउनको लागि निजी व्यवसाय गर्नुपर्नेमा जोड दिँदै भने राजनीतिलाई व्यवसाय नबनाउन सुझाव दिए । नयाँ अवस्थामा जेल गएको कुरा गर्नुभन्दा सदाचारी र विधिको शासनअनुसार अगाडि बढ्नुपर्ने उनको तर्क थियो ।

समृद्धिको लागि भाषण भन्दा भ्रष्टाचार रोक्नुपर्ने, उद्योगमैत्री नीति र कानून बनाउने, विदेशी लगानी भित्र्याउनु पर्नेमा उनको जोड थियो ।