मोदनाथ प्रश्रित खतरामुक्त, घोत्लिरहेका बेला अकस्मात हृदयघात - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

मोदनाथ प्रश्रित खतरामुक्त, घोत्लिरहेका बेला अकस्मात हृदयघात



प्रसिद्ध साहित्यकार डा. मोदनाथ प्रश्रितलाई हृदयघात भएकाले नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । डा. प्रश्रित काठमाडौबाट भैरहवातर्फ जाँदैगर्दा बाटोमा हृदयघात भएको थियो ।

डा. प्रश्रितलाई धादिङको गल्छीमा पुग्दा हृदयघात भएको थिय‍ो । उनलाई त्यहाँबाट तुरून्तै फर्काएर  नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताल पुर्याए लगत्तै उनको एनजिओ प्लास्टी गरिएको थियो । मुटुको भल्भमा जमेको रगत हटाइएपछि अहिले डा.प्रश्रितलाई सिसियू उपचार कक्षमा राखिएको छ ।

बरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईका अनुसार डा. प्रश्रितले साँझको खाना पनि सहज रूपमा नै खाएका छन् । अहिले उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न डा.र‍ोशना तिमिल्सिनाले जनाएको प्रसाइले बताएका छन् ।

डा.प्रश्रितले वर्तमान नेपाली साहित्यिक गतिविधिबारे नै चास‍ो राखेका छन् । त्यसैक्रममा उनले भनेकाच छन्- “धेरै साथीहरूले आआफ्ना कृति उपर भूमिका लेख्न मकहाँ ल्याउने गर्छन् । सबैलाई चाँडै चाहिने हुन्छ । कसैसँग हार्न पनि सक्तिन, सोही प्रेसरका कारण निकै रातिसम्म पनि अनिदो रहेर लेखिरहनाले मलाई तनाव भैरहेको थियो । बाटामा त्यही प्रसङ्गमा घोत्लिरहेका बेला अकस्मात मेरो छाती भारी भयो । चारैतिरबाट छातीमा चस्का हानेको म महसुस गर्दै थिएँ । मलाई निक्कै गाह्रो भइरहेको थियो । त्यसैबेला मैले अड्कल काटें, मलाई पक्का पनि हृदयघात भए जस्तो छ । त्यसपछि केके भयो मलाई थाहा छैन । तर अब म यो मुल्काबाट बाचेँ ।”